१५ फागुन, डडेल्धुरा ।
परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेका छन् । कृषकले उन्नत जातका गाईभैँसी पाल्न थालेपछि परशुराम नगरपालिका र आलिताल गाउँपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेका हुन् ।
कृषकले पछिल्लो समय दूधलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । उत्पादन भएको दूध चिस्यान गरी सदरमुकाम र कैलालीका विभिन्न बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । व्यावसायिक रुपमा गाईपालन गरी दूध बेचेर पर्याप्त आम्दानी गरिरहेको आलिताल गाउँपालिका कृषक पार्वती मडैले बताइन् ।
उनले दैनिक २५ देखि ३० लिटर दूध बिक्रि गर्दै आएकी छन् । मडैले १२ वटा गाई पालेकी छन । विभिन्न संघ संस्थाले व्यावसायिक रुपमा गाई–भैँसी पालनबारे अभिमुखिकरण तालिम दिने गरेका छन् । गाउँमै दुग्ध संकलन केन्द्र र चिस्यान घर सञ्चालनमा आएपछि कृषकलाई सहज भएको आलिताल गाउँपालिका–४ का कमलसिंह ऐडीले बताए ।
“संकलन केन्द्र सञ्चालनमा आएसँगै स्थानीयवासी व्यावसायिक रुपमा गाईपालनतर्फ आकर्षित भएका छन्,” उनले भने । ऐडीले दैनिक करिब दुई हजार लिटर दूध कैलालीको खप्तड डेरीलाई बिक्री गर्दै आएका छन् । आलिताल गाउँपालिकामा दुईवटा दुग्ध संकलन केन्द्र र चिस्यान घर रहेका छन् । परशुराम नगरपालिकाले पनि गाउँगाउँबाट दूध संकलन गरिरहेको छ ।
पछिल्लो समयमा दूध खपत नहुँदा कृषक निराश भएका छन् । उन्नत् जातका जर्सी गाईपालन गरी कृषकले दूध बिक्रीबाट दैनिक ५ सयदेखि १ हजार ५ सय आम्दानी गरिरहेका छन् । आलिताल–३ का कृषक तारादेवी मडै मासिक दूध बिक्रीबाट ३० हजारदेखि ४० हजारसम्म बचत गर्ने गरेको बताउछिन् ।
रासस
प्रतिक्रिया