१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जैमिनीघाट–पोखरा सडक स्तरोन्नति



१५ फागुन, फलेवास– पर्वत ।

दक्षिण पर्वत र दक्षिण बागलुङलार्ई प्रदेश नं ४ को राजधानी जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ । पर्यटकीय नगरी पोखरा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यस क्षेत्रमा भित्र्याउन र स्थानीय बासिन्दालाई पोखरासम्म छिटै सहज रुपमा यात्रा गराउने उद्देश्यले सडक स्तरोन्नति गर्न लागिएको हो ।

छिमेकी जिल्ला बागलुङसँग जोडिएको पर्वतको फलेवास नगरपालिकाको देवीस्थानमा पर्ने जैमिनीघाटदेखि स्याङ्जाको नौडाँडा जोड्ने सडक मर्मत गरेर स्तरोन्नति थालिएको फलेवास नगरपालिकाले जनाएको छ ।

देवीस्थान–खानीगाउँ–शंकरपोखरी–थापाठाना–कार्कीनेटा हुँदै स्याङ्जा जोडने र जुग्ले हुँदै नौडाँडा जोड्ने सडक बिहीबारदेखि स्तरोन्नति गर्न थालिएको हो । पहिलो चरणमा ४५ लाखको लागतमा स्तरोन्नति गर्न लागिएको उक्त सडक ११ मिटर चौडा हुने भएको छ । नगरपालिकाले विनियोजन गरेको बजेटमार्फत स्थानीय उपभोक्ता समिति गठन गरी सडकखण्डको स्तरोन्नति गर्ने कार्य शुरु गरिएको नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए ।

उनले भने, “यो सडक सञ्चालन हुने बित्तिकै उक्त क्षेत्रका बासिन्दा दुई घण्टामै पोखरा पुग्न सक्छन् । सडकखण्ड चौडा गर्ने क्रममा फलेवास नगर उपप्रमुख मञ्जु अधिकारीले नगरवासीले सास्तीपूर्वक यात्रा गर्नुपर्ने बाध्यता अब हट्ने बताइन् । बर्खायाममा हिल्लाम्मे र हिउँदको समयमा धुल्लाम्मे हुँदा सवारी सञ्चालनमा निकै कठिनाइ हुँदै आएको थियो ।

नगरपालिकामा बाह्रै महिना सवारी सञ्चालन गर्ने गरी नगरभित्रका सडक स्तरोन्नति गर्न थालिएको र अब जोखिम मोलेर यात्रा गर्नु नपर्ने तथा बर्खायामा सवारी साधन आवतजावत गर्दा अवरुद्ध नहुने दाबी गर्दै नगर उपप्रमुख अधिकारीले व्यवस्थित सडक भएसँगै स्थानीय कृषिजन्य उपजलाई बजारीकरण गर्नसमेत सहज हुने बताइन् ।

बागलुङको जैमिनी नगरपालिकासँगै पर्वतको फलेवास नगरपालिकाका बासिन्दालाई अहिले पनि पोखरा जान चार घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता छ । यो सिधा सडक सहज बनेपछि दुई घण्टामै पोखरा पुग्न सकिने नगरप्रमुख शर्माको भनाइ छ । यसवर्ष सडक चक्ल्याउने काम मात्रै हुने छ भने क्रमागत योजना वा सडक विभागबाट बजेट माग गरेर भएपनि दुई वर्षभित्रमा कालोपत्र गर्ने योजनासमेत बनाइएको छ । जैमिनीदेखि स्याङ्जाको फूलबारी सम्मको झण्डै ४० किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्र हुन बाँकी रहेको छ भने फूलबारीदेखि नौडाँडा हुँदै पोखरासम्म पक्की सडक छ ।

सडक स्तरोन्नति गर्ने काम समयमै सम्पन्न गर्न तीव्र गतिमा काम अगाडि बढाइने उपभोक्ता समितिका अध्यक्ष गोविन्द भुसालले बताए । बागलुङको जैमिनीघाट देखि देवीस्थान–खानीगाउँ–शंकरपोखरी–थापाठाना–कार्कीनेटा–हिलेखोला–जुग्ले हुँदै प्रदेश नं ४ को राजधानी पोखरा जोड्ने उक्त सडकलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताइएको छ ।
रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार ००:००