२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहादी गाउँपालिकाले गर्याे घरदैलोमै पुगेर योजना सम्झौता



१४ फागुन, फलेवास– पर्वत ।
पर्वतको सबैभन्दा विकट बिहादी गाउँपालिकाले घरदैलोमै पुगेर योजना सम्झौता गरेको छ । गाउँपरिषद्ले पारित गरेका सडक, सिँचाइ, कृषि लगायतका ६६६ वटा योजना गाउँघरमै पुगेर सम्झौता गरिएको हो ।

उपभोक्ता समितिमार्फत काम गर्ने योजनालाई समयमै सम्पन्न गर्न गाउँघरमै पुगेर योजना सम्झौता गरिएको र यसले उपभोक्ता समितिलाई विभिन्न प्रक्रिया पु¥याउने झण्झट समेत कम भएको छ ।

योजना सम्झौताका क्रममा उपभोक्ता समितिलाई विषयगत रुपमा विनियोजन गरेको २५ प्रतिशत बजेट समेत गाउँघरमै प्रदान गरिएको छ । अरु रकम भने उपभोक्ता समितिले काम सम्पन्न गरिसकेपछि पाउने छन् ।

गाउँपालिकाले बिहादीवासीलाई सिहंदरबार गाउँघरमै आएको अनुभूति दिलाउन तथा विकास निर्माणमा सहजता प्रदान गर्नका लागि टोलटोलमै पुगेर योजनाको सम्झौता गर्ने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ ।

बिहादी गाउँपालिकाका ६ वटै वडामा रहेका ३६६ वटा योजना वडामै पुगेर सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्माले जानकारी दिए । गाउँघरमै पुगेर योजना सम्झौता गर्दा स्थानीयवासीको समयको बचत हुने तथा घण्टौँ हिँड्नु नपर्ने र कार्यालयमा भीडभाड कम हुने हुँदा घरदैलोमै पुगेर गाउँसभाले पारित गरेका योजना सम्झौता गर्न थालेको उनले बताए ।

बजेटको सदुपयोग गर्दै समयमै योजना सम्झौता गरी विकासको कार्यलाई तीव्र गतिमा अगाडि बढाइने शर्माले बताए । गाउँपालिका प्रमुख कमलप्रसाद भुसालका अनुसार योजना सम्झौता भएलगत्तै उपभोक्ता समितिले काम शुरु गरेका छन् । कतिपय बहुवर्षे बाहेकका साना योजना चालू आवमै सकिने गरी काम गर्न निर्देशन समेत दिएको भुसालले बताए ।

जिल्लाको महाशिला, मोदी र जलजला गाउँपालिकाले पनि टोलटोलमै पुगेर योजना सम्झौता गरेका छन् । फलेवास नगरपालिकाले प्रत्येक वडामा एक–एक दिन घुम्ती सेवा सञ्चालन गरी कृषकलाई बीउबिजन वितरण, योजना सम्झौता, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र वितरण जस्ता कामसमेत गरेको जनाएको छ ।
रासस

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ००:००