२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डुडुवा गाउँपालिकाले पारित ग¥यो दुई विधेयक



१० फागुन, खजुरा– बाँके ।
बाँके जिल्लाको डुडुवा गाउँपालिकाले २ वटा विधेयक पास गरेको छ भने आर्थिक ऐन, २०७४ लाई संशोधन गरेको छ । गाउँपालिकाको बुधबार बसेको विशेष गाउँसभाले शिक्षा विधेयक र सहकारी विधेयक ऐन, २०७४ पारित गरेको हो ।

गाउँपालिकाको शिक्षा र सहकारी सम्बन्धी व्यवस्थापन, नियमन तथा अनुगमन, दर्ता सम्बन्धी व्यवस्था गर्न शिक्षा र सहकारी विधेयक पारित गरिएको गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले बताए ।

उनका अनुसार गाउँपालिकाको आर्थिक ऐन, २०७४ को प्रथम संशोधन गरिएको छ । आर्थिक ऐनमा सहकारी दर्ता दस्तुर, एफएम रेडियो दर्ता, कृषि फारम दर्ता, निजी स्वास्थ्य संस्था दर्ता, राजपत्र एवं कानूनको बिक्री दस्तुर शुल्क निर्धारण गर्नुपर्ने भएकाले संशोधन गरिएको गाउँपालिकाले जनाएको छ ।

बुधबार साँझ अबेर सम्पन्न बैठकमा ३ नं वडाका वडाध्यक्ष भण्डारीलाल यादव, वडा नं ६ का अध्यक्ष मोहनराम मिश्र र वडासदस्य रिथराम कुर्मीले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तीनैजनाले दर्ता गराएको प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

सभामा विधेयक समितिका संयोजक लीलावती यादवले तीनवटै विधेयक प्रस्तुत गरेका थिए । गाउँपालिकाले यसअघि बसेको प्रथम र आज बसेको विशेष गाउँसभाले अहिलेसम्म आर्थिक ऐन, विनियोजन विधेयक ऐन, आर्थिक कार्यविधि ऐन, शिक्षा ऐन र सहकारी ऐन गरी ५ वटा विधेयक ऐन पारित गरी कार्यान्वयनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेलले बताए ।

गाउँपालिकाको ऐन पारित भएपछि कार्य गर्न सहज हुने वडासचिव ऋषिराज गौतमले बताए । गाउँपालिका अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको गाउँसभाको बैठकको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत पौडेलले गरेका थिए । सभाको बैठक केन्द्रको संसद्अनुसार नै व्यवस्थित रुपमा सञ्चालन गरिएको थियो ।
रासस

प्रकाशित मिति : १० फाल्गुन २०७४, बिहिबार ००:००