१० फागुन, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि १, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताएका छन् ।
बुधबार इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को उद्घाटन गदै उनले कालु पाँडेले नेपालको एकीकरण गर्न सहयोग पु¥याएकाले उनको समाधिस्थललाई पर्यटकीय र ऐतिहासिकस्थल बनाउने बताएका हुन् ।
‘‘नेपालको राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई सहयोग गरेकाले कालु पाँडेको पनि उत्तिकै योगदान रहेको छ” उनले भने, ‘‘वास्तवमा राष्ट्रिय एकताका प्रवर्तकका रुपमा कालु पाँडे भएकाले उनको समाधिस्थललाई संरक्षण गरी प्रवर्द्धन गर्न जरुरी रहेको छ ।”
उनले समाधि रहेको स्थान दहचोकमा कालु पाँडेको शालिक बनाउने समेत घोषणा गरे । प्रधानमन्त्री ओलीले पुर्खाले निर्माण गरेका नेपालका गढी र किल्लालाई संरक्षण गर्नुपर्ने धारणा राख्दै दहचोकको विकासका लागि जनताको उत्साह, सहभागिता र अठोट हुनुपर्ने बताए ।
यसभन्दा अघि ठिक एक वर्ष अगाडि आजैका दिन आफू यहाँ आएको स्मरण गर्दै ओलीले भने, “म गतवर्ष आजकै दिन यहाँ आउँदा भन्दा अलि विकास भएको पाएको छु । अब फेरि पनि अर्को वर्ष यही दिन यहाँ आउँदा झनै विकास हुनेछ ।” उनले आफूले नै यस ठाउँलाई सु्न्दर बनाउने समेत बताए ।
कार्यक्रममा प्रदेश सांसद रमा आलेमगर र चन्द्रागिरि नगरपालिकाका प्रमु्ख धनराज गिरीले काठमाडौँदेखि नजिक रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नागरिक उड्डयन तथा पर्यटन सचिव कृष्ण देवकोटाले नेपालका पर्यटकीय सम्भावना भएका क्षेत्रलाई मन्त्रालयले पहिचान गरेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए ।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भूकम्पपछि ध्वस्त भएका सम्पदाको पुनःनिर्माण भइरहेको बताउदै यस्ता ७५३ मध्ये ८७ वटा सम्पदाको पुनःनिर्माण भइसकेको जानकारी गराए ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसीले दहचौकको विकास लागि प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । यसैगरी उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाई सम्मानसमेत गरेका थिए ।
यस्तै, प्रधानमन्त्री ओलीले सोही ठाउँमा रहेको कालु पाँडेको समाधिस्थलमा माल्यार्पण समेत गरेका थिए । कालु पाँडे घाइते भएका बेला ‘गोरखाको मनकामना मन्दिर देखिने ठाउँमा आफूलाई समाधिस्थ गर्नू’ भनेपछि उक्त ठाउँमा कालु पाँडेलाई समाधिस्थ गरिएको थियो ।
यसैगरी, प्रधानमन्त्री ओलीले उक्त ठाउँमा गोरखा, धादिङ र नुवाकोट देखिने गरी चन्द्रागिरि नगरपालिकाले निर्माण गर्न थालेको भ्यू टावरको पनि शिलान्यास गरे । करिब ३० लाखको लागतमा निर्माण हुन थालेको भ्यू टावर पाँच तले हुनेछ ।
रासस
प्रतिक्रिया