९ फागुन, ललितपुर ।
निर्माणाधीन कोटेश्वर–कलंकी सडक छेउका घर–टहरा भत्काउन ढिलाइ गर्दा काममा अवरोध पुगेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थान लगायतका ठाउँमा सडक छेउमा घर टहरा नहटाउँदा काममा बाधा पुगेको काठमाडौँ चक्रपथ सुधार आयोजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए ।
उनले भने, “हामीले सम्बन्धित व्यक्तिलाई पटकपटक भने पनि अटेर गरिरहेका छन् ।” चिनियाँ कम्पनी संघाइ निर्माण सेवा समूहले निर्माणको जिम्मवारी लिएकामा आयोजनाले समन्वयको काम गरिरहेको छ ।
मुख्य सडक चार लेनभन्दा बाहिर दुवैतिर दुई–दुई लेनको सहायक लेन र त्यो बाहिर एक–एक लेनको सर्भिस ट्र्याक बन्दैछ । सर्भिस ट्र्याक हुँदै सवारी साधन सहायक लेनमा छिर्न सक्छन् ।
यी घर–टहराका कारण यस क्षेत्रमा सर्भिस ट्र्याकको काम अवरुद्ध भएको हो । यससँगै पाइप लाइन, विद्युत्का पोल लगायतका कारणले गर्दा काममा ढिलाइ हुने गरेको छ ।
सडकमा बिच्छाइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा फुट्ने गरेको छ । इञ्जिनियर अर्याल भन्छन्, “सम्बन्धित निकायले सहयोग गरिदिए काम गर्न सजिलो हुन्थ्यो ।” सडकको जम्मा लागत १ अर्ब रहेको छ ।
रासस
प्रतिक्रिया