चुरामणि अर्याल
६ फागुन, जितपुर । कपिलवस्तुका स्थानीय तहहरूसँग पर्याप्त दमकल नहुँदा समस्या देखिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल छ । बाँकी ३ नगरपालिका र ४ गाउँपालिकामा दमकल छैन ।
हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्किएको छ । जिल्लामा वर्षेनी आगलागीका सयौँ घटना हुने गरेका छन् । आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
वाणगंगा, कृष्णनगर र कपिलवस्तु नगरपालिकाबाहेक अन्यमा दमकल छैनन । ९३ हजार घरधुरी र ६ लाखभन्दा बढी जनसंख्या रहेको यस जिल्लामा ३ वटा मात्र दमकल छ । कतै आगलागी भइहाले समयमै नियन्त्रण गर्न नसकेर थप क्षति हुने देखिन्छ । गत वर्ष मात्र कपिलवस्तुमा आगलागीबाट ४ सय ५० भन्दा बढी घरगोठ जलेर नष्ट भएका थिए भने ६ जना भन्दा बढीको मृत्यु भएको थियो ।
गत साल सबैभन्दा बढी शिवराज, महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिकामा आगलागीका घटना भएका थिए । हावाहुरीको मौसममा आगलागीका घटना बढी हुने गर्दछन् । अहिले पुनः गर्मीयामसँगै हावाहुरीको मौसम शुरु भइसके पनि स्थानीय तहले यसबारे आवश्यक चासो लिएका छैन । जननिर्वाचित प्रतिनिधिहरूसमेत आगलागीका सम्भावित घटना न्यूनीकरणतर्फ गम्भीर देखिएको पाइएको छैन ।
विलासी गाडी खरिद गर्ने, भाडामा लिएर चढ्ने र अन्य सवारी खरिद गरेका स्थानीय तहहरूले दमकल खरिदमा भने त्यति चासो देखाएका छैनन् । सबैभन्दा बढी फुसको कच्ची घर भएका विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकाले दमकल खरिद गरेका छैनन् । कृष्णनगर, कपिलवस्तु र वाणगंगामा सञ्चालित दमकललाई आवश्यक सेवा लिनका लागि कुनै सम्झौता वा आर्थिक अनुदानसमेत उपलब्ध गराएका छैनन् ।
निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरेका छन् भने कतिपयले दैनिक चारदेखि ६ हजारसम्म भाडामा गाडी चढिरहेका छन् तर विगतदेखि नै ठूलो समस्याका रूपमा रहेका आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरणतर्फ भने कुनै बजेट विनियोजन गरेको पाईदैन् ।
आफ्नो नगरक्षेत्रमा हुने सम्भावित आगलागी घट्ना न्यूनीकरणका लागि नगरपालिकाहरूले बेवास्ता गरेको सरोकारवालाहरूको आरोप छ । दमकल खरिद गर्न शिवराज, महाराजगञ्ज, बुद्धभूमि नगरपालिकाले चासो नदेखाएको स्थानीयवासी बताउँछन् ।
शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आवश्यक बजेट तथा जनशक्ति अभावले खरिद गर्न नसकेको बताए । दमकल खरिद गरेर परिचालन गर्ने र राख्ने स्थानसमेत नभएकाले तत्काल योजना नबनाएको उनले बताए । ‘आगलागीका घटना हँुदा छिमेकी कृष्णनगर नगरपालिकाको दमकलबाट सेवा लिइरहेका छौं,” पौडेलले भने ।
तर कृष्णनगरले सेवा दिएवापत शिवराज नगरपालिकाले हालसम्म केही नदिएको बताएको छ । कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले दमकल व्यवस्थापन र मर्मतका लागि विजयनगर गाउँपालिका तथा शिवराज, महाराजगञ्ज नगरपालिकाले रकम सहयोग नगर्दा सञ्चालनमा समस्या परेको बताए । कपिलवस्तु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विमल आचार्यले बजेट अभावले दमकल सञ्चालनमा समस्या आएको बताउए ।
दमकलका लागि चाहिने इन्धन मर्मत खर्च पर्याप्त नहुँदा समस्या परेको उहाँको दाबी छ । बुद्धभूमि महाराजगञ्ज नगरपालिका तथा यशोधरा, शुद्धोधन र मायदेवी गाउँपालिकाहरूले समेत दमकल प्रयोग गर्ने तर मर्मत र इन्धन खर्च दिएका छैनन । वार्षिक बजेट विनियोजन गर्दा दमकल सञ्चालनमा रकम छुट्याउने गरे पनि पछि अन्य शीर्षकमा खर्च गरिने स्रोतको दाबी छ । ठूलो नगरपालिका क्षेत्रमा एउटा दमकल व्यवस्थापनका लागि वार्षिक २० लाख रुपैयाँ आवश्यक पर्ने आचार्यले बताए । रासस




प्रतिक्रिया