१ फागुन, भैरहवा ।
रुपन्देहीका किसान अहिले कृषि बीमामा आकर्षित हुँदै गएका छन् । सरकारले कृषि बीमालाई प्राथमिकतामा राखेपछि किसान आकर्षित भएका हुन् । गहुँ, माछा, आलु, केरा, तरकारी, चैते धान लगायतका खाद्यान्न तथा तरकारीमा किसानले बीमा गर्ने सुविधा पाएको जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीले जनाएको छ ।
किसानले गर्ने विमित रकममध्ये ७५ प्रतिशत राज्यले अनुदान दिने र २५ प्रतिशत किसानले तिर्नुपर्ने व्यवस्था समेत रहेको छ । आर्थिक वर्ष ०७३/०७४ मा विभिन्न खाद्यान्न बालीमा जिल्लाका २२० जना किसानले ३ करोड ५ लाख बराबरको कृषि बीमा गरेका छन् ।
रुपन्देही खाद्यान्न र तरकारीमा आत्मनिर्भर भएको जिल्ला समेत रहेको जानकारी दिँदै कृषि विकास कार्यालय रुपन्देहीले जिल्लामा १ लाख ८२ हजार मेट्रिक टन खाद्यान्न आवश्यक रहेको र २ लाख ७६ हजार मेट्रिक टन उत्पादन हुने गरेको जिल्ला कृषि कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले बताए ।
जिल्लामा मुख्य गरी धान, गहुँ, मकै, कोदो र फापर लगायतका खाद्यान्न उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ ।
आलु र हरियो तरकारीमा समेत रुपन्देही आत्मनिर्भर रहेको जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीको तथ्यांक रहेको छ । जिल्लामा १ लाख १ हजार मेट्रिक टन तरकारी आवश्यकता रहेकोमा १ लाख १५ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।
गेडागुडी र तेलहनबालीको उत्पादनले भने रुपन्देहीलाई अपुग हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिइन् ।
कृषि प्रसार अधिकृत भण्डारीले जिल्लामा कृषि पकेट क्षेत्र ब्लक क्षेत्रको आधारमा कार्यक्रम अगाडि बढाइएको जानाकारी दिँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किसानलाई आर्थिक अनुदान समेत उपलब्ध गराइएको बताइन् ।
जिल्लामा ५३ वटा कृषि पकेट क्षेत्र र २ वटा कृषि ब्लक क्षेत्र रहेका छन् । तरकारीमा १४ वटा पकेट क्षेत्र छन् । ती अन्तर्गत केराको पकेट क्षेत्र ४ वटा, आलु, सिमी, तोरी, मकै र गहुँको १–१ वटा, धान १० वटा, धानको बीउ ३ वटा, माछा ५ वटा र च्याउ ३ वटा पकेट क्षेत्रमा उत्पादन हुनेगरेको छ ।
जिल्लाका रायपुर, मानपकडी, मानमटरिया, धकधई, असुरैना, अमुवाँ खाद्यान्नको पकेट क्षेत्र हुन् भने सूर्यपुरा, मानपकडी, वसन्तपुर लगायतका क्षेत्र तरकारीका पकेट क्षेत्र र दयानगर, छोड्की रामनगर, अमुवा, मानमटरिया, मानपकडी र धकधई माछाको पकेट क्षेत्र रहेका छन् ।
प्रत्येक पकेट क्षेत्रका लागि जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले २ लाख ८२ हजारको अनुदान दिने गरेको छ भने जिल्लामा रहेका १ ब्लक क्षेत्रमध्ये माछा ब्लक क्षेत्रलाई ४३ लाख र खाद्यान्न उत्पादन हुने ब्लक क्षेत्रलाई ५३ लाख अनुदान सहयोग गरेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
नेपालको कृषि, पर्यटन र उद्योगमा समेत अगाडि बढेको रुपन्देहीले पछिल्लो समयमा माछा उत्पादनलाई छुट्टै पहिचान बनाएको छ ।
रासस




प्रतिक्रिया