१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक सञ्जाल विस्तार भएसंगै फेरियो सुर्नया गाउँपालिकाको मुहार



विनोद सिंह विष्ट
२९ माघ, सुर्नया– बैतडी ।
सडक सञ्जाल विस्तार भएसँगै बैतडीको सुर्नया गाउँपालिकाको मुहार फेरिँदै गएको छ । केही वर्ष अघिसम्म दैनिक उपभोग्य सामान किन्न समेत घण्टौं हिँड्नु पर्ने बाध्यता रहेको यो ठाउँमा सडक विस्तार भएपछि त्यो बाध्यता हटेको छ ।

गाउँमा कुनै मान्छे बिरामी हुँदा उपचारका लागि लैजान समस्या हुने गरेको यस गाउँपालिकामा अब त्यस्तो समस्या छैन । सडक नहुँदा यसअघि सदरमुकाम जान समेत तीन–चार दिन लाग्ने गरेको भएपनि हाल आएर एक दिनमै सदरमुकाम पुग्न सकिने भएको रौलेश्वर मावि रामकी बरायलका प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताए ।

“ सडक सञ्जाल विस्तार भएपनि दैनिक उपभोग्य सामान भने सुपथ मूल्यमा किन्न पाएका छैनौं,” उनले भने– “सडक पुगेपछि सहज त भयो तर दैनिक उपभोग्य सामानको मूल्य घटेन ।”

सडक सञ्जाल विस्तार भएसँगै सहज रुपमा गाउँमै सबै किसिमको सामान पाइने गरेको स्थानीयवासी शंकर विष्टको भनाइ छ । यहाँका जनतालाई पहिले घण्टौ हिँडेर पाटन तथा सतबाँझ गएर दैनिक उपभोग्य सामान लिन जानुपथ्र्यो ।

ग्रामीण क्षेत्रमा सडक विस्तार भएसँगै गाउँमा उत्पादित कृषि सामग्री सहज रुपमा बजारसम्म लैजान सकिएको सुर्नया गाउँपालिका ५ का स्थानीय बासिन्दा हर्क बहादुर विष्टले बताए । कृषि उपजले पनि बजार पाएकाले किसानहरु व्यावसायिक खेतीतर्फ लाग्न थालेका छन् । सडक नहुँदा दैनिक उपभोग्य सामान बोक्न भरिया लगाउनुपर्थ्यो।

“सडक नहुँदा नून, तेलका लागि समेत घण्टौं हिँडेर बोकेर ल्याउनुपर्थ्यो,” सुर्नया ५ का जयमती मडैले भनिन्– “अब त घरनजिकै गाडीमा सामान आउँछ ।” सुर्नया ८ ढोलेका रमेश बोहराले भने गाउँसम्म सडक नहुँदा घोडा, खच्चरमा खाद्यान्न सामग्री ढुवानी गर्नुपरेको बताए । उनले भने– “दैनिक उपभोग्य सामान किन्न समेत एक–दुई घण्टा पैदल हिँड्नुपर्छ ।”

सुर्नया गाउँपालिकाको केन्द्र रौलेश्वरसम्म सडक पुगेपछि स्वास्थ्य सुविधा पनि सहज रुपमा उपलब्ध हुनथालेको गाउँपालिकाका स्वास्थ्य संयोजक जयदेव जोशीको भनाइ छ । सडक विस्तारले सुर्नयामा आमूल परिवर्तन भएको सुर्नया गाउँपालिकाका अध्यक्ष वीर बहादुर विष्टको भनाइ छ ।

उनले भने– “सडक विस्तारले ग्रामीण अर्थतन्त्र क्रियाशिल भएको छ ।” गाउँपालिकाको विकासका लागि अहिले विभिन्न संघ संस्थाले लगानी गर्न खोजेका छन् ।

सुर्नया गाउँपालिकाका सबै वडा सडकले छोएको छ । सतबाँझ–श्रीभार सडकअन्तर्गत २१ किलोमिटर सुर्नया गाउँपालिकासम्म सडकको ट्रयाक खुली गाडीहरु सञ्चालनमा रहेका छन् । खोड्पे–बझाङ सडकको मोतिनगरबाट अर्को सडक सुर्नया गाउँपालिकाको शंकरपुर पुगेको छ ।

सतबाँझ–श्रीभार सडकअन्तर्गत २१ किलोमिटर लामो सडकमा दैनिक जीप सञ्चालनमा रहेको भएपनि सडक स्तरोन्नति तथा रुट परमिट नहुँदा गाडी सञ्चालनमा समस्या हुने गरेको महाकाली यातायात व्यवसायी समिति सतबाँझ बैतडीका इञ्चार्ज कर्ण बहादुर पाण्डेयले जानकारी दिए ।

सतबाँझ–श्रीभार सडकखण्ड अन्तर्गत सुर्नया गाउँपालिकाको केन्द्र रोलेश्वरसम्म ट्रयाक खुली गाडीहरु सञ्चालनमा रहेका भएपनि सडकको स्तरोन्नति नहुँदा समस्या भएको छ । कच्ची सडक पुगेको भएपनि जोखिमपूर्ण यात्रा गर्न परिरहेको रौलेश्वर माविका प्रधानाध्यापक गणेश दत्त अवस्थीले बताए । पानी पर्दा यस सडकमा गाडी नै चल्दैन ।

सतबाँझ–श्रीभार सडक अन्तर्गत २१ किलोमिटर सुर्नया गाउँपालिका सम्मको सडकमा दैनिक जीप सञ्चालनमा रहेको भएपनि रुट परमिट नहुँदा गाडी सञ्चालनमा समस्या हुने गरेको यातायात व्यवसायी समितिको गुनासो छ । हाल उक्त सडकमा दैनिक ४–५ वटा जीप सञ्चालन हुन्छन् । सडक स्तरोन्नति गरी रुट परमिट दिनुपर्ने समितिको माग छ ।

सतबाँझदेखि सुर्नया गाउँपालिकासम्मको सडकमा खाल्डाखुल्डी पुर्न र स्तरोन्नति गर्न दवाव दिन राम विष्टको अध्यक्षतामा ७ सदस्यीय सडक सुधार संघर्ष समिति समेत गठन गरिएको छ ।

सतबाँझदेखि सुर्नया गाउँपालिकासम्म ट्रयाक खोलिएको उक्त सडक ढोलेसम्म विस्तार हुने र सोही क्रममा स्तरोन्नतिको काम पनि संगसंगै हुने सुर्नया गाँउपालिका अध्यक्ष विष्टले जानकारी दिए । सडक स्तरोन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागलाई आग्रह गरिएको छ ।
रासस

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार ००:००