६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामपुरको तालपोखरामा डुंगा सञ्चालन



२४ माघ, रामपुर– पाल्पा ।
पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गरेको रामपुरको तालपोखरामा डुंगा सञ्चालन गर्न थालिएको छ । पोखराको फेवातालको झल्को दिनेगरी निर्मित तालपोखरामा मंगलबारदेखि दुई वटा डुंगा सञ्चालनमा ल्याइएको हो ।

वर्षायामको बेलामा पानी जम्मा हुने पोखरीलाई व्यवस्थित गरी अहिले फेवाताल झै तालको स्वरुपमा परिणत गरिएको र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले डुंगा सञ्चालनमा ल्याइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष भरतराज देवकोटाले जानकारी दिए ।

डुंगा सञ्चालन गरिएपछि तालपोखरा क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । यतिबेला रमाउँदै डुंगा सयर गर्ने र हेर्नेको उत्साह बढ्दो छ । २ लाख ४० हजारको डुंगा, ४६ हजारको ज्याकेट खरिद गरी ल्याइएको समितिका सचिव सुनिल देवकोटाले जानकारी दिए । डुंगा सञ्चालनको खुशियालीमा तालपोखरामा पहिलो दिन मंगलबार प्रवेश निःशुल्क थियो ।

झण्डै ७० रोपनी क्षेत्रफलमा रहेको तालपोखरा पहिला पानी जम्मा हुने पोखरी थियो । यसको विकास र प्रवर्द्धन भए रामपुरकै पर्यटकीय भविष्यको लागि एक खम्बा बन्ने परिकल्पना गरेर यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सफल भएको परिकल्पनाकार एवं तालपोखरा संरक्षण समितिका पूर्वअध्यक्ष देवराज देवकोटाले बताए ।

युवाको नेतृत्वमा रामपुरवासीको सहयोगमा तालपोखराको पर्यटन विकासका लागि महायज्ञ आयोजना गरेर आर्थिक संकलन गरी अहिले पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको हो । अहिले फेवातालको बिन्धबासिनी झै तालको बीचमा जलेश्वर शिवजीको मूर्ति धुमधामका साथ भित्र्याइदैछन् ।

छोटो समयमा यो क्षेत्रले पर्यटन विकासको क्षेत्रमा फड्को मार्न सफल भएको छ । अब ताल पोखरा क्षेत्रमा डुंगामा चढेर मन्दिरमा नियमित पूजाआजा शुरु गर्ने समितिले जनाएको छ । यहाँ डुंगा सञ्चालनमा ल्याएपछि आम्दानी पनि बढ्ने देखिएको छ ।
रासस

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ००:००