१४ माघ, काठमाडौं ।
विश्व सम्पदामा सूचीकृत हनुमानढोका र स्वयम्भूलाई सम्पदा मार्गका रुपमा विकास गर्नका लागि त्यस क्षेत्रका जनप्रतिनिधि र युनेस्कोका प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन् ।
प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठको नेतृत्वमा प्रदेशसभा सदस्य राजेश शाक्य, स्थानीय तहका प्रतिनिधिका साथै युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्टाइन म्यानहार्टको नेतृत्वमा एक समूहले संयुक्तरुपमा त्यस क्षेत्रको अध्ययन गरेको हो ।
स्थानीयवासी, सम्पदाविद् लगायतले उक्त प्रतिनिधिमण्डललाई त्यस क्षेत्रमा पर्ने विभिन्न मठ, मन्दिर, ढुंगेधारा लगायतका सम्पदाबारे जानकारी गराएका थिए । हनुमानढोका देखि करिब ३ किलोमिटर पैदलमार्ग भई स्वयम्भूसम्मका प्राचीन सम्पदाको अध्ययनपछि त्यस क्षेत्रलाई सम्पदा मार्ग बनाउन आवश्यक नीति तथा गृहकार्य गरिने प्रतिनिधिसभा सदस्य श्रेष्ठले जानकारी दिए ।
यसअघि करिब दुई साता अगाडि श्रेष्ठले युनेस्कोका प्रतिनिधि म्यानहार्टलाई सो क्षेत्रलाई सम्पदा मार्गका रुपमा अगाडि बढाउन सहयोगको प्रस्ताव राखेकोमा उनीहरु सकारात्मक रहेका थिए ।
रासस
प्रतिक्रिया