६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नहर मर्मत नहुँदा फलेबासका खेत बाँझै



११ माघ, फलेवास— पर्वत ।
जिल्लाको मुख्य खाद्यान्न उत्पादनको पकेट क्षेत्रका रुपमा रहेको खेत सिँचाइको अभावमा बाँझै रहेको छ । गत जेठमा सडक निर्माणको क्रममा पुरिएको नहर मर्मत नहुँदा फलेबास नगरपालिका–४, मुडिकुवाको झण्डै २ हजार ५०० रोपनी उर्बर फाँट बाँझो बनेको हो ।

कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेबास–दोबिल्ला सडक विस्तारको क्रममा नहर पुरिएको हो । नहर मर्मत गर्न कुनै निकायले चासो नदिँदा खेत बाँझो रहेको स्थानीयवासी शालिग्राम लामिछानेले बताए । सिँचाइको एक मात्र विकल्पको रूपमा रहेको उक्त नहर सञ्चालनमा नआउँदा यस वर्ष धान उत्पादनमा दुई तिहाइले कमी आएको उनको भनाइ छ ।

अहिले हिउँदे तरकारी लगाउने समयमा पनि खेत बाँझो रहेकामा यहाँका किसान निराश छन् । तरकारी, गहुँ, तोरी, फापर लगायत खेती हुने ठाउँ बाँझै छ । गत जेठमा नहर पुरिएपछि अधिकांशले आकाशेपानीको भरमा धान रोपाइँ गरेका थिए । अहिले पानी नपर्दा खेत जोत्न समस्या भएको छ ।

“अघिल्लो वर्ष २१ मुरी धान फलाएकी हुँ, यस वर्ष मुस्किलले आठ मुरी मात्रै फल्यो,” स्थानीयवासी विष्णुकुमारी लम्सालले भनिन्, “कुलो नहुँदा अन्न उब्जाउन समस्या भएको छ ।”

नहरको मूल झण्डै पाँच किलोमिटर टाढा लमाए खोलामा रहेको छ । विगत चार वर्षअघि नहर बनेपछि किसानले मौसमी, बेमौसमी तरकारी तथा खाद्यबालीबाट पर्याप्त आम्दानी गर्दै आएका थिए ।

मुडिकुवाका सिर्सुवा, एक्लेफाँट, तल्लोसेरा, बाह्रबिसे, नौबीसे, छबीसे, सातबीसे लगायत फाँट अझै सिँचाइको अभावमा बाँझै छन् । तरकारी बेचेर आम्दानी गर्ने यहाँका कृषक अहिले बजारबाट किनेर खानुपर्ने अवस्थामा पुगेका स्थानीयवासी घनश्याम भुसालको भनाइ छ ।

सडक निर्माणको ठेक्का लिएको कम्पनी आशिष फेवा नयाँबाटोले बिग्रिएको कुलो मर्मत गर्ने आश्वासन दिए पनि कार्यान्वयन भने गरेको छैन । आयोजनाका प्रतिनिधि नीलकुमार राईले नहर मर्मतमा आयोजना पक्ष सकारात्मक भएको बताए । “हामीले त्यतिबेलै मर्मत गरिदिन्छौँ भनेका हौँ” उनले भने, “उपभोक्ता आफैँले बनाउँछौँ भनेपछि उनीहरूकै जिम्मा लगाएका हौँ ।”
रासस

प्रकाशित मिति : ११ माघ २०७४, बिहिबार ००:००