५ माघ, तिलोत्तमा– रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विभिन्न ऐन, नियमावलीको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार नगरपालिकाले विभिन्न स्थानीय ऐनको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी गरेको हो । तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा यही माघ ८ गते शुरु हुँदैछ ।
विभिन्न ऐनको मस्यौदामाथि दफावार छलफल गरेर नगरसभाबाट पारित भएपछि त्यसलाई १५ दिनभित्र नगर प्रमुखले प्रमाणीकरण गर्नुपर्ने कानूनी व्यवस्था रहेको नगरपालिकाका कानूनी सल्लाहकार खुमाकान्त पौडेलले जानकारी दिए ।
यसरी प्रमाणीकरण भएको ऐन प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले कतिपय ऐन पहिलो नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिसकेको छ । नगरपालिकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको ढाँचामा संघीय कानूनसंग नबाझिने गरी स्थानीय ऐनको मस्यौदा तर्जुमा गरेको हो ।
नेपालको संविधान, २०७२ को अनुसूची ८ मा स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएका छन् भने अनुसूची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची उल्लेख छ । स्थानीय ऐनका कुनै प्रावधान प्रदेश कानुनसंग बाझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानूनअनुसार हुने कानूनी सल्लाहकार पौडेलले जानकारी दिए ।
नगरपालिकाले कतिपय ऐनको मस्यौदाउपर सरोकारवालासंग छलफल गरिसकेको छ । मूलतः शिक्षा र सहकारी ऐनको मस्यौदामा धेरैले चासो राखेको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए । प्रमाणीकरण र प्रकाशन, कृषि व्यवसाय प्रवर्द्धन, बजार अनुगमन, आर्थिक कार्यविधि लगायतका ऐनको मस्यौदा नगर उपप्रमुखको संयोजकत्वमा रहेको विधेयक मस्यौदा उपसमिति र नगर कार्यपालिका बैठकबाट समेत पारित भइसकेको छ ।
नेपालको संविधानले स्थानीय तहलाई दिएका अधिकारको सूचीको अधिनमा रही विभिन्न ऐनको मस्यौदा तयार गरी नगरसभामा प्रस्तुत गर्ने तयारी भइरहेको नगर उपप्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन् ।
नगर कार्यपालिकाको बुधबारको बैठकमा कानूनी सल्लाहकार पौडेलले ऐनको मस्यौदा प्रस्तुत गरेका थिए । कार्यपालिका सदस्यले शिक्षा र सहकारी ऐनको मस्यौदा थप अध्ययन गर्न समय मागेपछि अर्को बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको छ ।
कार्यपालिकाको बुधबारको बैठकले नगरको भूउपयोग नीति तयार गर्न प्रा डा भोजराज कडेरियाको संयोजकत्वमा उपसमिति गठन गरेको छ । यस्तै तिलोत्तमालाई प्लाष्टिक झोला र प्लाष्टिक गिलासमुक्त नगरपालिका बनाउन आवश्यक मापदण्ड निर्धारण गर्न केशवराज न्यौपानेको संयोजकत्वमा उपसमिति गठन लगायतका निर्णय कार्यपालिका बैठकले गरेको छ ।
रासस


प्रतिक्रिया