सीताराम अधिकारी
४ माघ, मलेखु– धादिङ ।
जिल्लाको गौरब योजनामध्ये धादिङवेंसी–तिप्लिङ सडक सर्वे गरिएको स्थानभन्दा बाहिर लान माग गरिएपछि सो सडकको निर्माण कार्य अहिले रोकिएको छ ।
धादिङवेसीदेखि डुण्डुरेसम्मको सडक खनिएको र डुण्डुरेदेखि तिप्लिङसम्म सडकको नयाँ ट्रयाक खोल्ने काम भइरहेको भएपनि झर्लाङ पुगेपछि स्थानीयले बाधा पु¥याएका कारण काम रोकिएको ठेकेदारले जनाएको छ ।
“गाउँका केही युवाहरूले काम गर्दा अनिवार्य चन्दा दिनुपर्ने अन्यथा डोजर लगायतका मेसिन जलाइदिने धम्की दिएको र गाउँवासीले पनि गाउँ घुमाएरमात्र सडक खन्न भनेपछि काम रोकिएको रुबीभ्याली गाउँपालिका–२ का वडाध्यक्ष पेम्बा घलेले बताए ।
सडकको ट्रयाक खोलिएको करिब २५ वर्षपछि साङ्कोष तिप्लिङ सडकको स्तरोन्नति र नयाँ ट्रयाक बनाउने काम सुरु गरिएको थियो । यो सडक रसुवाको सोमदाङ हुँदै रसुवागढीसम्म पुग्ने सडक भएकाले महत्वपूर्ण रुपमा लिइएको छ ।
सदरमुकाम धादिङवेसीलाई उत्तरी क्षेत्रको सबैभन्दा विकट रुविभ्याली गाँउपालिकासंग जोड्न सडक निर्माणको कामले केही गति लिए पनि सो क्षेत्रमा पर्ने विभिन्न खोलामा पुल निर्माण गर्नुपर्ने काम अझै सुरु हुन सकेको छैन ।
उक्त सडकखण्डमा पर्ने नेत्रावती गाँउपालिकाको लपाङस्थित लपाङ खोलामा दुई वर्ष अघिदेखि पुल निर्माण गर्ने भनिए पनि सोका लागि अहिलेसम्म ठेक्का लगाउन सकिएको छैन ।
जिल्ला प्रविधिक कार्यालय धादिङका अनुसार किम्ताङ खोलाको पुलका लागि तयार पारेको डिपिआर भने डिजाइनका कारण खरिद योजनामा अझैसम्म नपरेकाले समस्या भएको बताउँदै आएको छ ।
डुन्डुरे खोलामा भने ठेक्का सम्झौता भए पनि भौगोलिक कारण देखाई पटक पटक डिजाइन परिवर्तन गरेकाले पुल निर्माणको काम सुरु हुन सकेको छैन ।
डुन्डुरे खोलामा बन्ने पुलको काम भने अब एक महिनामा सुरु हुने जिल्ला प्रविधिक कार्यालयले जनाइएको छ । यस क्षेत्रमा काम गर्न गएका ठेकेदारहरूसंग गाउँका केहि युवाहरू चन्दा अनिवार्य गरेपछि काम नै सुरु हुन सकेको छैन ।
झर्लाङ क्षेत्रमा नयाँ ट्रयाक खोल्ने क्रममा गाउँमा जताततै अवरोधको सामना गर्नु परिरहेको छ भने डिपिआर गरेको स्थानभन्दा माथि गाउँबाट सडक खन्न दबाब दिएका कारण काम रोक्नुपरेको ठेकेदार कम्पनीले जनाएको छ ।
तिप्लिङ पु¥याउनुपर्ने सडक बाटोमा यसरी छेकिएपछि विकास नहुने र सडक सपना पुरा नहुने भएकाले सुरक्षा प्रदान गरी सडक खन्ने कार्य सुचारु गर्न तिप्लिङ र लापाकाका नागरिकले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
रासस
प्रतिक्रिया