११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुमका स्थानीय तहलाई स्वास्थ्य संस्था हस्तान्तरण थालियो



४ माघ, तेह्रथुम ।
जिल्ला स्वास्थ्य कार्यालय, तेह्रथुमले आफू मातहतका स्वास्थ्य संस्थाहरुलाई सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयको परिपत्रबमोजिम जिल्लाका ६ वटै स्थानीय तहमा पुगेर ती स्थानीय तह भित्रका स्वास्थ्य संस्था हस्तान्तरण गर्न थालिएको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताए ।

स्थानीय तहको कार्यसम्पादनको अधिकार निर्धारण भएसंगै स्वतः स्वास्थ्य संस्थाहरु स्थानीय तह मातहतमै गएपनि कार्यालय मातहतका स्वास्थ्य संस्थाका कर्मचारी, जिन्सी तथा पूर्वाधारको अवस्था लगायत सम्पूर्ण अधिकार औपचारिक रुपमै स्थानीय तहलाई हस्तान्तरण गरिएको डा शाहले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयको टोलीले हालै लालीगुराँस नगरपालिका र आठराई गाउँपालिकामा पुगेर त्यस क्षेत्रका स्वास्थ्य संस्था हस्तान्तरण गरिसकेको छ । सो अवसरमा त्यहाँ निर्वाचित जनप्रतिनिधिसंग स्वास्थ्य संस्थाको व्यवस्थापन, हालको अवस्था, समस्या र चुनौतीका सम्बन्धमा छलफलसमेत भएको छ ।

स्थानीय तह मातहतमा गएपछि ती स्वास्थ्य संस्थाको औषधि खरिद, कर्मचारीका सेवासुविधा, पूर्वाधार तथा कार्यालय व्यवस्थापन लगायत सम्पूर्ण काम अब स्थानीय तहले नै गर्नेछन् । दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य कार्यालय मातहत दुई प्राथमिक स्वास्थ्य केन्द्र, २९ वटा स्वास्थ्य चौकी र एउटा शहरी स्वास्थ्य केन्द्र छन् ।

त्यसमध्ये दुई प्राथमिक स्वास्थ्य केन्द्र र १० वटा स्वास्थ्य चौकी सम्बन्धित स्थानीय तहको जिम्मा लगाइसकेको कार्यालयले जनाएको छ । बाँकी रहेकामध्ये छथर क्षेत्रका पाँचवटा स्वास्थ्य चौकी गाउँपालिकालाई हस्तान्तरण गर्ने तयारी रहेको डा शाहले बताए ।

अन्य स्वास्थ्य संस्थाहरु पनि अब क्रमशः स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यालयको तयारी छ ।
रासस

प्रकाशित मिति : ४ माघ २०७४, बिहिबार ००:००