२ माघ, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकामा कार्यरत इन्जिनियर सुशील चापागाईंलाई १० हजार घुससहित कार्यकक्षबाटै पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार भवन निर्माण सम्पन्नताको प्रमाणपत्र दिने प्रयोजनका लागि सेवाग्राहीसंग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका इन्जिनियर चापागार्इंमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यस्तै आयोगले यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत नासु यादव पौडेल, खरिदार सुमन पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विदेशी सवारी चालक अनुमतिपत्रको नेपालीकरण गर्ने प्रयोजनाका लागि सेवाग्रीसंग घुस माग्दा माग्दै उनीहरु केही दिन पहिले घुस रकम ३० हजारसहित पक्राउ परेका थिए । उनीहरुको साथमा लेखापढी व्यावसायी अशोक कार्कीसमेत पक्राउ परेका थिए । उनीहरुलाई हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
रासस
प्रतिक्रिया