१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा ६५ हजारको स्वास्थ्य बीमा



१ माघ, पोखरा ।
कास्कीमा एक वर्षको अवधिमा ६५ हजार नागरिकले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बीमा दर्ता प्रक्रिया शुरु गरेकामा पुस मसान्तसम्ममा १२ हजार ६९५ परिवार बीमामा आबद्ध भएका छन् ।

बीमा दर्ता गरेबापत समितिले ३ करोड ७० लाख संकलन गरेको कार्यालयका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए । सो अवधिमा बीमा दर्ता गराएका ३८ हजार नागरिकले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले ३ करोड ५० लाख भुक्तानी गरिसकेको छ ।

विसं २०७२ चैत २५ गतेदेखि कैलालीबाट बीमा कार्यक्रम शुरु भएको र बीमा दर्ता गरेका सदस्यले कास्कीका १० सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र २७ वटा विविध उपचार सेवा पाइरहेका छन् । समितिले एक्सरे, युएसजी, इसिजी र सेमी अटो एनभाइजर मेशिन पनि उपलब्ध गराएको छ ।

कास्कीका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडावारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

जिल्लामा हाल १०५ जना बीमा दर्ता सहयोगी जिल्लाको एक महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । यो कार्यक्रममा परिवारका सबै सदस्य सहभागी हुनुपर्नेछ । प्रति पाँच जनासम्मको परिवारले वार्षिक २ हजार ५०० योगदानमा आधारित रकम बुझाउनु पर्नेछ ।

परिवारमा पाँचजनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ४२५ का दरले थप रकम बुझाउनु पर्नेछ । सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक ५० हजार रहेको छ र पाँचजनाभन्दा बढी परिवारका सदस्य भएमा प्रतिथप सदस्यबापत १० हजारको सीमा बढ्दै जाने र अधिकतम सीमा १ लाखसम्म कायम गरिएको छ ।
रासस

प्रकाशित मिति : १ माघ २०७४, सोमबार ००:००