१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुनै राष्ट्रिय सडकसंग जोडिन तीन किलाेमीटर बाँकी



१ माघ, दुनै– डोल्पा ।
दुर्गम हिमाली जिल्ला डोल्पाको दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमी मात्रै बाँकी रहेको सेनाले जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्ड अन्तर्गत श्रीविण्डे–त्रिपुराकोट खण्डको निर्माण कार्य नेपाली सेनाद्वारा तीव्र पारिएपछि डोल्पालीको सडक सपना सेनाले अन्तिम चरणमा पु¥याएको हो । जाजरकोट–डोल्पा सडकखण्डको कुल लम्बाइ ११७ दशमलव ७ किमी सडकखण्डमध्ये ११४।७ किमी सडक सेनाले निर्माण कार्य पूरा गरिसकेको छ ।

डोल्पाको दुनैसम्म सडक जोड्नका लागि श्रीविण्डे–त्रिपुराकोट खण्डको तीन किमी मात्रै निर्माण कार्य बाँकी रहेको जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए । “अहिले जाजरकोट–डोल्पा सडकखण्डको श्रीविण्डे–त्रिपुराकोट खण्डमा सडक निर्माण कार्य भइरहेको छ, उक्त खण्डमा भिर पहरायुक्त भएकाले निर्माण कार्यमा चुनौती भए पनि सेनाले ज्यानको बाजी लगाउँदै काम गरिरहेको छ,” पहाडीले भने ।

“उक्त खण्डका श्रीविण्डे, सिउरेनी, चिप्ले, चुँगाड लगायतका दर्जनाैँ स्थानमा कम्प्रेसर मेशिन राखेर काम तीव्र पारिएको छ, उक्त खण्डकै धाउनेमा निर्माण बेस खडा गरेर सेनाले युद्धस्तरमा काम गरिहेको छ,” उनले थपे, “अब माघ दोस्रो साताभित्रै रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारदेखि त्रिपुरासुन्दरी नगरपालिकाको श्रीविण्डेसम्मको सडकखण्ड उद्घाटन गर्ने तयारीमा छौ ।” “उद्घाटन लगत्तै जिप, ट्र्याक्टर लगायतका हलुका यातायातका साधन सञ्चालन गरेर जनतालाई राहत दिने लक्ष्य छ ।”

सेनाले युद्धस्तरमा काम गरिरहेको देख्दा डोल्पालीहरु पनि खुशी भएका छन् । सडक निर्माणपछि यातायातको असुविधामा दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी पर्दा उपचार गर्नका लागि सुगममा लैजानसमेत सहज हुने डोल्पालीको विश्वास छ । त्रिपुरासुन्दरी नगरपालिका–५ का स्थानीय मोती उपाध्यायले सदरमुकाम दुनैसम्म गाडी पु¥याउने काम अन्तिम चरणमा पुगेको भन्दै खुशी व्यक्त गरे ।

“सदरमुकाम दुनैदेखि छ घण्टामा खदाङ पुगिन्छ, अब तराई झर्नका लागि हप्तौँसम्म जहाज कुर्नुपर्ने बाध्यता पनि हट्दै छ, खदाङसम्म यातायात सञ्चालनमा ल्याइएपछि दुई दिनमै नेपालगन्ज पुगिन्छ, डोल्पालीका लागि सबैभन्दा ठूलो खुशीको कुरा हो, यो सबै श्रेय नेपाली सेनालाई जान्छ,” उपाध्यायले भने ।

जाजरकोट–डोल्पा सडकखण्डको रुकुम डोल्पा सिमानामा पर्ने त्रिवेणी बजारसम्म गत ०७३ सालमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीद्वारा उद्घाटन गरेर यातायात सञ्चालनमा ल्याइएको थियो । गोतामकोटदेखि त्रिवेणीसम्म यातायात सञ्चालनमा ल्याइएपछि तल्लो डोल्पाका जनता प्रत्यक्ष लाभान्वित भएका छन् भने दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत सहज भएको मुड्केचुला गाउँपालिकाका स्थानीयवासी सरोज थाले बताए ।
रासस

प्रकाशित मिति : १ माघ २०७४, सोमबार ००:००