६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महानगरपालिकाले भित्री सडकमा चारपांग्रे चलाउन रोक लगाउने



२६ पुस, काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाले सात वटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी साधन प्रवेश गर्न निषेध गर्ने भएको छ ।

कामपाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री सडकमा चारपांग्रे सवारी साधन गुड्न रोक लगाउन लागेको जानकारी दिएको हो ।

महानगरका वडा नं १७, १८, १९, २२, २४, २५ र २७ मा भित्री क्षेत्रका शहर भएको हुँदा सो क्षेत्रभित्र रहेका सम्पदा बचाउन चारपांग्रे सवारी निषेध आवश्यक रहेको महानगरका उपप्रमुख हरिप्रभा खड्गीले बताइन् ।

“सम्पदाको संरक्षण गर्ने कार्य एकातिर छ भने अर्कोतर्फ बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसैले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म यात्रुको चाप कम हुने भएकाले उक्त समयमा भने चारपांग्रे यातायातका साधन उक्त स्थानमा सञ्चालन गर्न सकिन्छ” महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी निरीक्षक विदुरकुमार थापाले चारपांग्रे सवारी साधनका कारण भित्री सडकका पैदल यात्रुले कष्टपूर्वक यात्रा गर्नु परेकाले सो क्षेत्रमा चारपांग्रे सवारी साधन निषेध गर्न आवश्यक रहेको बताए ।

बिरामी, सुत्केरी ज्येष्ठ नागरिक बोकेको गाडी, एम्बुलेन्स र दमकललाई भने रोक नलगाइने कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । भोटाहिटीबाट असन चोकसम्म चारपांग्रे सवारी साधनलाई एकतर्फी निषेधित क्षेत्र बनाइएको छ ।

यस्तै, नयाँ व्यवस्थाअनुसार नरदेवीबाट भेडासिङ हुँदै इन्द्रचोकसम्म तथा टेंङ्गलबाट बांङ्गेमुढा हुँदै भेडासिङ, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट थँहिटी हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाउने छ ।

साथै इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिङ, ज्याथाबाट त्यौड, थँहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपांग्रे सवारी साधनलाई पूर्णरुपमा निषेध गरिनेछ ।

बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म भने सबै खालका सवारी साधन आवतजावत गर्न पाउनेछ । कोही व्यक्ति वा संस्थालाई निषेध गरिएकै समयमा सवारी साधनको आवश्यक परी सञ्चालन गर्न परेमा वडा कार्यालय वा ट्राफिक प्रहरीसंग सम्पर्क गर्नुपर्नेछ ।
रासस

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार ००:००