६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाको लापरवाहीले दुर्गन्धित बन्दै मेलम्ची



आदित्य दाहाल
२६ पुस, मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रुपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ ।

मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन न नगरपालिका पुगेको छ न कुनै सामाजिक संस्थाले नै चासो दिएका छन् । घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण धेरै समस्या भोग्नु परेको स्थानीयले गुनासो गर्न थालेका छन् ।

नगरभित्र संकलन भएको फोहर खुलेआम नदी किनारमा फाल्दा र सार्वजनिक स्थानमा फोहरको थुप्रो लाग्दासमेत नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि बढाउन सकेको छैन ।

अव्यवस्थित फोहरका कारण अहिले वातावरण प्रदूषित मात्र नभएर विभिन्न रोगको प्रकोप फैलन थालेको स्थानीय समाजसेवी प्रकाश श्रेष्ठ बताउछन् । मेलम्ची नगरपालिका घोषणा भएको तीन वर्ष बितिसक्दासमेत फोहरको व्यवस्थापन गर्न नगरपालिका चुकेको स्थानीयले आरोप लगाएका छन् ।

फोहर व्यवस्थापन गर्नका लागि सरकारले नगरपालिकालाई फोहर बोक्ने गाडीसमेत उपलब्ध गराएको छ तर नगरपालिकाले फोहर फाल्ने स्थान अभाव देखाउँदै पन्छिँदै आएको छ ।

फोहर व्यवस्थापन सम्बन्धमा नगरपालिका प्रमुख डम्बर अर्यालले उपयुक्त स्थानको अभाव भएकाले फोहर व्यवस्थापन गर्न नसकेको स्वीकार गरेका छन् । नगपालिकाको १०, ११, र १२ नं वडाको स्थान अहिले डम्पिङ साइडको छनोटको रुपमा रहेको र कुन चाहिँ उपयुक्त हुन्छ भन्नेबारे अझै नगरपालिकाले निर्णय लिन सकेको छैन ।

फोहर व्यवस्थापनको लागि भनेर नगरपालिकाको प्रत्येक वडामा फोहर राख्ने ठाउँ बनाइएको छ । फोहर राख्ने ठाउँमा फोहर कुहिएर दुर्गन्धित हुन्छ तर फोहर लिन नगरपालिकाको गाडी एकपटक पनि नआएको मेलम्ची नगरपालिका–१०, शिखरपुरका स्थानीय टोलबहादुर खड्का बताउछन् ।

वातावरण सन्तुलन राख्न नगरपालिकाले मुख्य चासो दिनुपर्नेमा नगरपालिका आफैँ मुकदर्शक बनेकाले तत्काल फोहर व्यवस्थापनको आशा टरेको अर्का स्थानीय भीमप्रसाद दुलाल बताउछन् ।

मेलम्ची नगरपालिका बासिन्दा चित्रकुमार श्रेष्ठ भन्छन्, “गाडी आएको केही महिना फोहर उठाए पनि नगरपालिकाले अहिले फोहर उठाउन छोडेको लामो समय भइसकेको छ । बजारको चोकचोकमा फोहोरको थुप्रो छ फाल्नको लागि नगरपालिकाले चासो नदिँदा रुघाखोकी, आउँ, हैजा, औलोजस्ता सरुवा रोगको प्रकोप बढेको छ ।”

अव्यवस्थित फोहरले बजारको स्वरुप नै कुरुप भएको बताउँदै स्थानीयले फोहर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दासमेत बेवास्ता गर्ने गरेको र अब नगरपालिका छिटोभन्दा छिटो फोहर व्यवस्थापन गर्नेतर्फ केन्द्रित हुनुपर्ने स्थानीयको माग छ ।

फोहर व्यवस्थापनको लागि डम्पिङ साइडको अभाव भए नगरपालिकाले डम्पिङ क्षेत्रको खोजी गर्न आफ्नो सक्रियता बढाउनुपर्ने देखिन्छ तर नगरपालिका मौन बस्न भने नमिल्ने बताउँदै मेलम्ची नगरपालिका–१० का सुमन तामाङ बताउछन् ।

२०७३ साउनमा तत्कालीन नगरपालिका प्रमुख जिम्मेवारी सम्हालेका पूर्णप्रसाद दुलालले फोहर व्यवस्थापनका लागि भन्दै इन्द्रावती नदी किनारमा तीन लाख बजेट विनियोजन गरी फोहर फाल्ने खाल्डो बनाएका थिए ।

नगरपालिका जस्तो संवेदनशील निकायले देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरी नदी किनारमा फोहरको खाल्डो खनेको र बस्ती नजिकै उक्त खाल्डो बनाएको विषयलाई स्थानीयले सर्वत्र विरोध गरेका थिए ।

बस्ती नजिकै फोहरको खाल्डो र यसले वातावरणमा पर्ने दीर्घकालीन असरको विषयमा स्थानीयले नदीको किनारमा फोहोरको खाल्डो खनेकोप्रति आपत्ति व्यक्त गर्नुका साथै नदी किनारमा फोहर फाल्न दिएका थिएनन् । मेलम्चीमा इन्टरनेट वाइफाइभन्दा पनि पहिलो प्राथमिकता फोहर व्यवस्थापनलाई दिनुपर्ने मेलम्चीका अर्का स्थानीय कुमार दुलालले बताए ।

दुलालका अनुसार फोहरको व्यस्थापन नहुँदा नदी धेरै दुर्गन्धित भएको र फोहरले मानिसको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ । बजारबाट संकलित फोहर अहिले सिधै नदीमा मिसाउँदा बजारको तल्लो भेगमा बस्नेले सोही पानीलाई खानेपानीका रुपमा पिउन बाध्य छन् र यसको रोकथाम नहुने हो भने ठूलो दुर्घटना निम्तिन सक्छ । यसको छिटो रोकथाम गर्नुपर्ने उनको माग छ ।”

मेलम्चीमा फोहर व्यवस्थापनका लागि पटकपटक कुरा चल्दा डम्पिङ क्षेत्रको अभाव भन्दै नगरपालिका पन्छिँदै आएको स्थानीय बताँउछन् । नाम नबताउने शर्तमा एक स्थानीयले भने, फोहर व्यवस्थापनको लागि एक वर्ष अघिदेखि नगरपालिकामा कुरा राख्दासमेत आश्वासन मात्र दिएर फर्काउने गरेका छन् भने अहिले फोहर व्यवस्थापनका लागि जापानी मेशिनको पर्खाइमा रहेको भन्दै नगरपालिका पन्छिने गरेको छ ।

नगरपालिका कार्यालयभित्र हुँदा फोहर व्यवस्थापन भोलिबाट नै शुरु हुन्छ भने पनि व्यवस्थापन गर्नेतर्फ कुनै कार्य अगाडि बढाउन नसकेको मेलम्ची बजार क्षेत्रको फोहरको थुप्रोबाट नै स्पष्ट हुन्छ ।
रासस

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार ००:००