२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकालाई स्वास्थ्य संस्था हस्तान्तरण



२५ पुस, भक्तपुर ।
जिल्ला जनस्वास्थ्य कार्यालयले चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण गरेको छ । नगरपालिकामा आयोजित स्वास्थ्य संस्था हस्तान्तरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले नगरपालिका क्षेत्रभित्र पर्ने एक प्राथमिक स्वास्थ्य केन्द्रसहित सातवटा स्वास्थ्य चौकी हस्तान्तरण गरेका हुन् ।

संविधानमा व्यवस्था भएअनुसार स्थानीय निकायलाई स्वास्थ्य संस्था हस्तान्तरण गर्नुपर्ने प्रावधानअनुरुप उपत्यकामै पहिलो पटक भक्तपुरको चाँगुनारायण नगरपालिकालाई स्वास्थ्य संस्था हस्तान्तरण गरिएको हो ।

उक्त कार्यालयबाट सञ्चालित हुँदै आएको स्वास्थ्य चौकीको सम्पूर्ण जिम्मेवारी र दायित्व अब नगरपालिकाको हुने भएको छ । नगरपालिकाले स्वास्थ्य चौकीको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएअनुसार सरकारले यसअघि नै नगरपालिकालाई औषधि खरिदलगायतका विभिन्न शीर्षकमा बजेट पठाइसकेको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले संविधानले व्यवस्था गरेअनुसार जिल्लाका विषयगत सरकारी कार्यालय नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने भएकाले नगरपालिकाको काँधमा थप जिम्मेवारी आएको बताए ।

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा भएका कमीकमजोरीलाई सुधार गर्दै चुस्तरुपमा जनस्वास्थ्य कार्यालय सञ्चालन गर्ने बताए ।

जनस्वास्थ्य कार्यालयका प्रमुख केशवराज पण्डितले जिल्लाका चारवटै नगरपालिकालाई स्वास्थ्य चौकी हस्तान्तरण गर्न तयार रहेको भन्दै नगरपालिकाले दायित्व लिन ढिलाइ गर्न नहुनेमा जोड दिए ।
रासस

प्रकाशित मिति : २५ पुस २०७४, मंगलबार ००:००