११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी नगरपालिका २ मा ‘लिफ्ट प्रविधि’ बाट सिँचाइ आयोजना सञ्चालन



२४ पुस, म्याग्दी ।
बेनी नगरपालिका–२ स्थित खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको छ । तरकारी खेतीको पकेट क्षेत्र खबरामा राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकमसमेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो ।

प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले अइतबार सो आयोजना शुभारम्भ गर्दै प्रविधिको प्रयोगले खेर गएको पानीलाई उपयोग गरी सिँचाइमा सहज हुने बताए । करिब एक वर्षको अवधिमा निर्माण भएको सो आयोजनाबाट स्थानीय तरकारी खेतीमा आबद्ध कृषकलाई राहत मिलेको छ ।

कुल १८ लाख खर्च भएको यस आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्ला कृषि विकास कार्यालयबाट दश लाख अनुदान, समुदायबाट चार लाख बराबरको श्रमदान र चार लाख ऋण व्यहोरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए ।

लभ्लीहिलको पुछारमा रहेको हाँडेभिरस्थित म्याग्दी नदी किनारमा दश मिटर गहिरो इनार बनाइएको छ । सो इनारदेखि विद्युतीय उपकरणको सहायताले पानी तानेर २५० मिटर माथि लभ्लीहिलको डाँडामा सिँचाइको लागि पानी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

इनारदेखि ५०० मिटर ६० एमएमको पाइपबाट लभ्लीहिलमा पु¥याइएको पानी रिजर्भ ट्यांकीमा संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी तान्नका लागि २० हर्स पावर क्षमताको पम्प जडान गरिएको र प्रतिघण्टा १० हजार लिटर पानी तान्न सक्ने क्षमता रहेको सो आयोजनाका प्राविधिक कृष्ण खत्रीले बताए ।

पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने झण्झटबाट मुक्त हुन मोबाइल एप्सको प्रयोग गरिएको छ ।
मोबाइल एप्समा सेटिङ मिलाएपछि अन बटन थिचेको करिब १० सेकेण्डमा पानी आउने र अफ बटन थिचेको करिब ६ सेकेण्डमा पानी बन्द हुन्छ । अहिले लभ्लीहिल नजिकै पु¥याइएको पानीलाई दारिमपाटासम्म पु¥याएर थप विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ ।

व्यावसायिक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिँचाइको समस्या समाधानका लागि कृषकले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँमा पु¥याउन सफल भएका हुन् ।
रासस

प्रकाशित मिति : २४ पुस २०७४, सोमबार ००:००