२३ पुस, बाह्रबिसे– सिन्धुपाल्चोक ।
बाह्रबिसे ८ का ७२ वर्षीय रंगलाल तिमल्सेना गाउँमै कालोपत्रे सडक पुग्न लागेपछि खुशी मुद्रामा थिए । बाह्रबिसेबाट प्रत्येक दिन दुई घण्टा हिँडेर सामान ओसारपसार गर्दै आएका रंगलालले गाँउमै कालोपत्रे सडक पुग्न लागेपछि अब दुःखका दिन गए भन्दै रमाए ।
“बाटो नखुलेको बेला बाह्रबिसेबाट नुन, तेल, मरमसला बोकेर उकालो चढ्नुपर्थ्यो, आज कालोपत्रे सडकका लागि मन्त्रीज्यूले उद्घाटन गर्नुभयो,” उनले भने ।
यस्तै सोही गाउँकी ५० वर्षीय बच्चुदेवी तिमल्सेना पनि खुशी देखिइन् । “हाम्रा पालामा तीन घण्टा हिँडेर पढ्न जान परेको थियो, अब सडक आएपछि बसमा राखेर नातिनातिना पढाउन पाइने भयो,” उनले भनिन् ।
यसैगरी ठोट्नेका ४१ वर्षीय रामलाल विश्वकर्मा श्रमदान गरेर बाटोको डोरेटो खोलेर कालोपत्रे हुन लागेकोमा निकै हर्षित छन् । बाह्रबिसे–ओमपार्क सडकको शुक्रबार शिलान्यास गरेसंगै बाह्रबिसे, ठोट्ने, रातामाटे हुँदै ओमपार्क क्षेत्रका बासिन्दामा खुशीयाली छाएको छ । कुल १४।२ किलोमिटर लम्बाइको उक्त सडक ३३ करोड ३० लाखको लागतमा निर्माण हुन लागेको हो ।
निर्माणको जिम्मा पाएको जोइन्ट भेन्चर ९लुम्बिनी, बन्धक भगवती, ड्रागन० कम्पनीले निर्माणमा कुनै बाधा व्यवधान नआए तोकिएको समयभन्दा चाँडो निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेपछि गाउँले झन खुशी भएका छन् ।
सोही क्षेत्रका निवर्तमान सांसद एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा उक्त सडकखण्डमा रकम विनियोजन गरिएको थियो ।
रासस
प्रतिक्रिया