१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुलाई उज्यालो नबनाई विद्युत् बाहिर लान नदिने



२२ पुस, सल्लेरी– सोलुखुम्बु
प्रदेशसभा ख का नवनिर्वाचित सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् जिल्लामा खपत नभए मात्र बाहिर निर्यात गर्न सुझाव दिएका छन् ।

बिहीबार सल्लेरी च्याल्सा विद्युत् कम्पनी लिमिटेड सोलुखुम्बुको २५औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद राजभण्डारीले सोलुखुम्बुलाई उज्यालो नबनाई बाहिर विद्युत् निर्यात गर्छु भन्ने सपना नदेख्न निर्माणाधीन विद्युत् कम्पनीलाई चेतावनी दिए । जलश्रोतको धनी सोलुखुम्बुमा विभिन्न कम्पनीमार्फत विद्युत् उत्पादन हुँदैछ ।

च्याल्सा विद्युत्को मुनाफा ९.७ प्रतिशत कम

सल्लेरी च्याल्सा विद्युत् कम्पनीले आव २०७३/७४ मा अघिल्लो आवको तुलनामा ९.७ प्रतिशतले आफ्नो खुद नाफामा कमी आएको प्रतिवेदन सार्वजनिक गरेको छ । आव २०७२/७३ मा १ करोड १८ लाख ८ हजार २६५ खुद नाफा कमाउन सफल भएकामा आव ०७३/७४ मा ९१ लाख ९७ हजार ७०५ खुद नाफा भएको छ ।

आव २०७२/७३ मा नाजिङ र तोजिङ विद्युत् उपभोक्तालाई विद्युत् वितरण प्रणालीको काम गर्दा मुनाफामा कमी आएको कम्पनीका निवर्तमान कार्यवाहक अध्यक्ष आङ्दामी शेर्पाले बताए ।

कम्पनीको नयाँ योजना

कम्पनीले निकट भविष्यमै एसएमएसमार्फत विद्युत् महसुलको जानकारी दिइने तथा अनलाइन पेमेन्टमार्फत विद्युत् महसुल भुक्तानी गर्न शुरुआत गर्ने आगामी वर्षको योजना रहेको जनाएको छ ।

६ सय ३३ किलोवाट क्षमताको कम्पनीको अहिले १ हजार ९०० घरधुरीले विद्युत् उपभोग गरिरहेका छन् । दैनिक एक घण्टा विद्युत्भार कटौती खेप्नुपरे पनि कम्पनीको सेवाप्रति सेवाग्राही सन्तुष्ट रहेको सेवाग्राही लक्ष्मण श्रेष्ठले बताए ।

अध्यक्षमा डा शेर्पा

च्याल्सा विद्युत् कम्पनीको नयाँ सञ्चालक समितिका अध्यक्षमा डा मिङ्मार ग्याल्जेन शेर्पा सर्वसहमतिले चयन भएका छन् । साधारणसभाको बन्दसत्रले सञ्चालक समिति सदस्यमा आङ्दामी शेर्पा र दोर्जी शेर्पालाई चयन गरेको छ । अन्य सञ्चालक समिति सदस्य भने नेपाल विद्युत् प्राधिकरणबाट मनोनयन गर्ने कम्पनीले जनाएको छ ।
रासस

प्रकाशित मिति : २२ पुस २०७४, शनिबार ००:००