१६ पुस, काठमाडौं । गोकर्णेश्वर नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आइतबार आयोजित कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ का सांसद कृष्ण राई, प्रदेशसभा सदस्य (क) छिरिङदोर्जे लामा, प्रदेशसभा (ख) का सदस्य रामेश्वर फुयाँल, नगरपालिकाका प्रमुख सन्तोष चालिसे र उपप्रमुख शान्ति नेपालले संयुक्त रुपमा खुला दिसामुक्त क्षेत्र घोषणा गरेका हुन् ।
खुला दिसामुक्त क्षेत्र घोषणासँगै नगरपालिकाको दुर्गम एवम् शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले छोएका वडा नं १ र २ लाई रु ३÷३ लाख अनुदान दिने निर्णय पनि सार्वजनिक गरिएको छ । यो अनुदानले दुवै वडाले सार्वजनिक शौचालयको निर्माण गर्नेछन् ।
सो अवसरमा सांसद राईले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तर कार्यान्वयन नहुने, खुला दिसामुक्त क्षेत्रमा सार्वजनिक शौचालय नहुने अवस्था आउन नदिन नगरपालिकालाई आग्रह गरे ।
प्रदेशसभा सदस्यद्वय लामा र फुयाँलले स्वास्थ्य र सरसफाइका लागि नगरपालिकाको घोषणा सकारात्मक भए पनि निरन्तर अनुगमन गर्नुर्नेमा जोड दिए । साथै, मानिसको भीडभाड हुने सार्वजनिकस्थलमा साझा शौचालय निर्माण गर्न पनि सुझाव दिए ।
नगर प्रमुख चालिसेले बाग्मती नदीको शिरो भागको नगरपालिका भएकाले गोकर्णेश्वरलाई खुला दिसा एवम् ढलमुक्त बनाउन नगरपालिकाले नियमित अनुगमनमा खट्ने प्रतिबद्धता जनाए । रासस



प्रतिक्रिया