१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिस्तानको महभिर झरना ओझेलमा



११ पुस, बाबियाचौर— म्याग्दी ।
प्रशस्त पर्यटकीय सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको महभिर झरना ओझेलमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावका कारण बेनी–जोमसोम सडकको छेउमै रहेको मनमोहक र आकर्षक महभिर झरना ओझेलमा परेको हो ।

बेनी–जोमसोम सडकमा सवारीसाधन मार्फत दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गरेपनि नजिकै रहेको महभिर झरना सुनसान हुने गर्छ ।

पहाडको फेदीमा करिब १०० मिटर माथिबाट खस्ने महभिर भरना निकै आकर्षक र मनमोहक रहेको स्थानीयवासी मिलन गर्बुजा बताउछन् । छङछङ गर्दै झर्ने झरनामा इन्द्रेणी लाग्दा अझै मनमोहक देखिने गर्छ । पूर्वाधार विकास, प्रचारप्रसार र प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको उनको भनाइ छ ।

उक्त झरना नजिकै मन्दिर पनि रहेको छ, जहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले झरनाको धार्मिक महत्वसमेत छ । बेनी–जोमसोम सडकदेखि दश मिटर नजिकै रहेको झरना बाटैबाट देखिन्छ । केही पर्यटक गाडीबाट ओर्लिएर झरना नजिकै पुगेर अवलोकनसंगै तस्वीर खिच्ने पनि गरेका छन् ।

घेराबार, विश्रामस्थल, पार्किङस्थल, पदमार्ग निर्माण र प्रचारप्रसार हुन सकेको छैन । यातायातको पहुँच रहेकाले उक्त झरनामा साहसिक खेल क्यानोनिङ पनि सञ्चालन गर्न सकिने सम्भावना रहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

अन्नपूर्ण गाउँपालिकाको ७ नं वडाका अध्यक्ष गमबहादुर फगामीले महभिर झरनालाई पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि यो वर्ष वडा कार्यालयले पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिए । महभिरका बासिन्दासंग छलफल गरेर सवारी पार्किङ, रेलिङ, विश्रामस्थल र पदमार्ग निर्माण गर्ने योजना रहेको वडाध्यक्ष फगामी बताउछन् ।

यसैगरी सडक छेउमा झरनाका बारेमा जानकारीमूलक बोर्ड राखिने भएको छ । पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाएपछि प्रवेश शुल्क लिने र गाउँपालिकाको आयस्रोतका रुपमा समेत परिचालन गर्न सकिने सम्भावना रहेको वडाध्यक्ष फगामीले बताए ।

झरनाको पर्यटन विकास गर्नसकेमा नजिकै होटल तथा रेष्टुराँ, होमस्टे सञ्चालन गरेर स्थानीयवासीले आम्दानी गर्नसक्ने सम्भावनासमेत रहेको छ ।
रासस

प्रकाशित मिति : ११ पुस २०७४, मंगलबार ००:००