१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माघमा ‘मेयर कप फुटबल प्रतियोगिता २०७४’ हुने



९ पुस, बागलुङ ।
प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता २०७४’ आगामी माघमा हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ ।

स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

नगरपालिका आफैँले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा भाग लिनका लागि ४ नं प्रदेशका सबै नगरपालिकालाई आह्वान गरिएको छ । “खेलकुद विकासलाई प्राथमिकतामा राखेर प्रतियोगिता राखेका हौँ,” नगरपालिका प्रमुख जनकराज पौडेलले भने । “खेलाडी र समग्र खेलजगत्लाई प्रतियोगिताले उत्प्रेरित गर्ने हाम्रो विश्वास छ ।”

प्रतियोगिताका विजेताले दुई लाख २२ हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मानस्वरुप पाँच पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै सेमिफाइनलमा पुग्ने समूहलाई दैनिक भत्तासमेत व्यवस्था गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघले सहयोगी भूमिका खेल्नेछन् । प्रतियोगितामा ४ नं प्रदेशका १२ भन्दा बढी नगरपालिकाबाट खेलाडी सहभागी गराउने लक्ष्य लिइएको छ ।
रासस

प्रकाशित मिति : ९ पुस २०७४, आइतबार ००:००