७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्र वर्षपछि गाउँमा रिङरोड सहितको सडक सञ्जाल



४ पुस, रामपुर– पाल्पा ।
निर्माण कार्य शुरु गरिएको १३ वर्षपछि रिङरोडसहितको सडक सञ्जाल गाउँमा जोडिएको छ । रामपुर आर्यभञ्ज्याङ सडकखण्ड अन्तर्गत साविक गल्धाको बेलडाँडाबाट मित्याल, झिरुवास, सहलकोट हुँदै गाँडाकोट, भलायटार, गण्डकीढिक हुँदै रामपुरको बेझाँड बजारसंग जोड्ने रिङरोडको अवधारणासहित शुरुवात भएको सडकले अहिले गाउँ गाउँ जोडिएको हो ।

तत्कालीन समयमा गाँडाकोटको भलायटार र गल्धाको बेलडाँडादेखि मित्याल रुक्से भञ्ज्याङसम्म जसोतसो सडक पुगे पनि अन्य स्थानमा सडक सञ्जाल जोडिन सकेको थिएन । पूर्वी पाल्पाका साविक गाँडाकोट, सहलकोट, झिरुवास र मित्याल गाविस जोड्ने सडक रिङ्रोडसहित जोडिएपछि यस क्षेत्रका स्थानीवासीमा खुसियाली छाएको छ ।

विसं २०६१ मा जिविस पाल्पा र हेल्भेटास नेपालको आर्थिक सहयोगमा स्थानीयवासीको जनश्रमदान र न्यून ज्यालामा मित्यालबाट झिरुवास ७ को धार्केसिंसम्मको नौ किमी सडक निर्माण, गाँडाकोटको भलायटारदेखि सहलकोटको आनन्दीसम्मको १३ किमी सडक र सहलकोटको आनन्दीदेखि हात्ती भञ्ज्याङसम्मको पाँच किमी सडक निर्माण कार्य शुरु भएको थियो ।

विसं २०६३ मा निर्माण सम्पन्न गर्ने सहमति भए पनि तत्कालीन समयमा द्वन्द्व र आन्दोलनका कारण झिरुवासको धार्केसिंसम्म २०६४ मा र भलायटारदेखि सहलकोटको हात्ती भञ्ज्याङसम्म २०६५ मा सडक निर्माण सम्पन्न भएको थियो ।

बाँकी सडकखण्ड अन्तर्गत सहलकोटको लिन्दीदेखि झिरुवासको धार्के सिंसम्मको सडक रामपुर झ्यालबास सडकखण्ड निर्माणका क्रममा जोडिए पनि सहलकोटको हात्तीभञ्ज्याङदेखि लिन्दीसम्मको साढे दुई किमी सडक नजोडिँदा रिङरोडको मान्यता पाउन सकेको थिएन ।

द्वन्द्वको समय भएकाले बीचमै सडक निर्माण कार्य अलपत्र अवस्थामा परेको वडा नं २ का वडा अध्यक्ष पूर्णबहादुर वाकावलले बताए । “काम नियमित गर्न पाएको भए पहिले नै सडक जोडिन्थ्यो, दाताले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए तर द्वन्द्वले नियमित काम गर्न नपाउँदा परियोजना फेजआउट भएर गयो,” वाकावलले भने ।

बाँकी साढे दुई किमी सडक निर्माण कार्य आव २०७१/७२ बाट शुरु भएको थियो । संसद् विकास कोष र जिविसको १५ लाख, २०७३/७४ मा संसद् विकास कोषको १९ लाख र जिविस पाल्पाको पाँच लाखबाट साढे एक किमीको मार्ग खोलिएको थियो ।

बाँकी एक किमी मार्ग खोल्ने र आनन्दीदेखि लिन्दीसम्मको सडक स्तरोन्नति गर्ने काम चालू आवमा झण्डै ५० लाखको लागतमा जोडिएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर रानाले बताए । सडक निर्माणका लागि गाउँपालिकाले ४२ लाख र वडाले ३ लाख रकम विनियोजन गरेको थियो । अहिले निस्दी गाउँपालिकाको केन्द्रसंग नजोडिएको वडा नं १ पनि जोडिएको छ ।

गाउँपालिकाको केन्द्र मित्याल पुग्नका लागि रामपुर हुँदै मित्याल जान बाध्य सहलकोटका र बाकामलाङ्का स्थानीयवासी सडक सञ्जाल जोडिएपछि छोटो दूरीमा यात्रा गर्न पाउने भएपछि उनीहरुलाई ठूलो राहत मिलेको वडा नं १ का वडाध्यक्ष पूर्णबहादुर खाँणको भनाइ छ ।

गाउँपालिकाको केन्द्रदेखि सबै वडामा अहिले सडक सञ्जाल जोडिएपछि यहाँको आर्थिक, सामाजिक तथा पर्यटनको क्षेत्रमा समेत ठूलो टेवा पुग्ने भएको छ ।
रासस

प्रकाशित मिति : ४ पुस २०७४, मंगलबार ००:००