३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा छ उम्मेदवारको धरौटी जफत



२९ मंसिर, बैतडी ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका बैतडीका छ जनाको धरौटी जफत भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजेता र उपविजेता उम्मेदवारबाहेकका अन्य सबै छ जनाको धरौटी जफत भएको हो ।

कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजिम राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

बैतडीमा प्रतिनिधिसभातर्फ पाँचजनाको उम्मेदवारी परेकामा तीनजनाको धरौटी जफत भएको छ । प्रदेशसभा क बाट उम्मेदवारी दिएका ५ जना मध्येबाट पनि तीनजनाको धरौटी जफत भएको छ । प्रदेशसभा ख मा भने दुईजना मात्रै उम्मेदवार रहेकामा कसैको पनि धरौटी जफत भएको छैन ।

प्रदेशसभा तथा प्रतिनिधिसभामा उम्मेदवार बनेका नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र राप्रपाका कुनै पनि उम्मेदवार धरौटी जफत नभएको मुख्य निर्वाचन अधिकृत गौतमले बताए ।

धरौटी जफत हुने उम्मेदवारले प्रतिनिधि र प्रदेशसभातर्फ खसेको कूल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेका हुन् । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा ६९ हजार ११९ मत सदर भएको थियो ।

यस्तै, प्रदेशसभामा ‘क’ क्षेत्रमा ३८ हजार १८ मत खसेकामा ३४ हजार ८८२ मत सदर भएको हो भने प्रदेशसभा ख क्षेत्रमा ३८ हजार १५५ मत खसेकामा ३५ हजार ५६५ सदर भएको थियो ।

प्रतिनिधिसभामा धरौटी जफत हुने उम्मेदवारहरुमा एकीकृत राप्रपा राष्ट्रवादी का त्रिलोकबहादुर चन्द, विवेकशील–साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी रहेका छन् ।

यस्तै, धरौटी जफत हुने प्रदेशसभा ‘क’ मा राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे रहेका मुख्य निर्वाचन अधिकृत गौतमले बताए । उनले भने, “कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजिम उनीहरुको धरौटी जफत भएको छ ।” बैतडीमा एक लाख ३२ हजार ३१९ मतदाता रहेकामा ७६ हजार ३४३ मतदाताले मतदान गरेका थिए ।
रासस

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार ००:००