Logo

गुफापोखरी संरक्षणमा जुटे स्थानीयवासी



प्रकाश धौलाकोटी
२८ मंसिर, तेह्रथुम ।
तीनजुरे मिल्के जलजले संरक्षण क्षेत्रमा रहेको गुफापोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । पोखरीको अस्तित्व संकटमा पर्दै गएपछि स्थानीयवासीले संरक्षणमा चासो देखाएका हुन् । पोखरी परिसरको घेरबार, सरसफाइ, पानीको मुहान पहिचानजस्ता विषयमा अहिले चासो बढेको छ । अवलोकनका लागि आउने आन्तरिक पर्यटकसंग स्थानीयवासीले पोखरीको संरक्षणका लागि राय, सुझाव माग्न थालेका छन् ।

संखुवासभाको चैनपुर नगरपालिका १ स्थित सो पोखरीको संरक्षणका लागि तत्कालीन जिल्ला विकास समितिले छुट्याएको पाँच लाखबाट हाल पोखरी परिसरमा घेरबार गरिएको छ । सो रकमले पोखरी परिसरमा ३९० मिटर घेरबार लगाइएको तीनजुरे मिल्के जलजले पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले बताए ।

“अब पानीको स्रोत जुटाउनु छ, स्रोतको पहिचान गर्ने क्रममा छौँ,” उनले भने । प्राकृतिकरुपमा बनेको आकर्षक गुफापोखरीमा पर्यटक र नजिकमा बस्ती विकास हुँदै जाँदा फोहर बढ्दो छ । वर्षेनी मौसम परिवर्तन हुँदै पानीको मुहान सुक्दै गएको छ ।

पाँच वर्ष अघिसम्म भरिभराउ हुने सो पोखरीमा अहिले पानीको सतह घटेर आधा भागमा बालुवामात्रै देखिन्छ । पानीको मुहान पहिचान गरेर तत्कालै पोखरीमा पानी बढाउन आफूहरु प्रयत्नशील रहेको अध्यक्ष लिम्बूले बताए ।

प्राकृतिक विविधताले भरिपूर्ण तीनजुरे, मिल्के जलजले टिएमजे क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगममा पर्छ । टिएमजे क्षेत्रको पदमार्ग भएर वर्षेनी हजारौँ पर्यटक ओहोरदोहोर गर्छन् । उक्त क्षेत्रका प्राकृतिक सुन्दरता र धार्मिक महत्वका पोखरीको अवलोकन, वसन्त ऋतुमा राताम्मे गुराँसे वन, डाँडाकाँडा र पाखाको दृश्यावलोकनका लागि पर्यटक आउँछन् ।

टिएमजेको सबैभन्दा ठूलो र महत्वपूर्ण पोखरी गुफापोखरी नै हो । पोखरीको छेउमा सानो बस्ती छ । गुफापोखरी नजिकै भएकाले बजारको नाम पनि गुफाबजार राखिएको छ । पर्यटकीयस्थल भएकाले सो बजारमा होटल व्यवसाय सञ्चालन गरी १६ घरधुरी बस्दै आएका छन् । तीन हजार मिटर उचाइमा रहेको सो क्षेत्रमा पहिले प्रशस्त हिउँ पर्ने भएकाले पोखरीमा बाह्रै महिना टिलपिल पानी हुन्थ्यो ।

अहिले हिउँ पर्न छाडेकाले पानी सुक्दै गएको चैनपुर नगरपालिका १ का वडाध्यक्ष लोकबहादुर श्रेष्ठले बताए । पाँच वर्षयता हिउँ कम पर्न थालेको उनले बताए । “पोखरीभित्रको बालुवा निकाल्ने र चारैतिर घुम्ने तथा हेर्ने ठाउँ बनाउने योजना छ,” उनले भने ।

वडाध्यक्ष श्रेष्ठका अनुसार पहिले आसपासका २० घरधुरीले त्यही पोखरीको पानी प्रयोग गर्थे । मानिसको चाप बढ्दै जाँदा जंगलसमेत फँडानी भएकाले वृक्षरोपण गर्ने योजना रहेको छ । पोखरी बाहिरपट्टि लालीगुराँस र अन्य विभिन्न फूलका बिरुवा रोपिएको छ । फूलका बिरुवा ठूला भएपछि पोखरी आसपास गुराँससहित आकर्षक फूल फुलाएर ढकमक्क बनाउने योजना रहेको स्थानीयवासी सुनाउँछन् ।

पोखरी नजिकै मेन्छ्यायेम डाँडा छ । डाँडाको पछाडिपट्टि ऐतिहासिक गुफा छ । सोही गुफाको आधारमा पोखरीको नाम पनि गुफापोखरी राखिएको स्थानीयवासी बताउँछन् । सो गुफाको संरक्षण गरी प्रचारप्रसार गर्ने योजना रहेको वडाध्यक्ष श्रेष्ठले बताए । सोही गुफासंगै पोखरी र बजारको अस्तित्व जोडिएकाले गुफालाई प्राथमिकतामा राखेर संरक्षण गरी पर्यटकीयस्थल बनाउनुपर्ने स्थानीयवासी धर्के शेर्पा बताउनुहुन्छ ।

“यहाँको गुफा र पोखरीले टिएमजे क्षेत्रकै ऐतिहासिक विशेषता बोकेको छ, यिनै पोखरी र गुफा पर्यटक भुलाउने वस्तु हुन्,” शेर्पा भन्छन्, “यिनैलाई संरक्षण नगरे हामी कसरी संरक्षित हुने ?” टिएमजे क्षेत्रका तीनजुरे डाँडा, पाथीभरा र यहाँका उच्च क्षेत्रका बस्ती अवलोकन गर्दै पर्यटक अावतजावत गर्छन् । प्राकृतिक पोखरी, आकर्षक डाँडाकाँडाका कारण टिएमजे पर्यटकीयस्थल बनेको हो ।

कञ्चनजंघा हिमालको आधार शिविर र तमोर नदीमा जलयात्रा गर्ने पर्यटकसमेत यही क्षेत्र भएर यात्रा गर्छन् । ती पर्यटकलाई एक दुई दिन गुफापोखरीमै घुम्न पुग्ने गरी पूर्वाधारको निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन सकिने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । अहिले यहाँको पदमार्ग भएर तमोरमा जलयात्रा गर्न आउनेको संख्या बढेको छ ।

तेह्रथुमको वसन्तपुरहुँदै गुफापोखरीसम्म सडक पुगिसकेको छ । सो सडकलाई मदन भण्डारी राजमार्गको नामकरण गरी निर्माण गर्ने सरकारी योजना रहेको छ । अहिले निर्माणाधीन सो सडक भएर ताप्लेजुङको दोभानदेखि गुफापोखरी, वसन्तपुरहुँदै धरानसम्म सिधा यातायात सञ्चालन हुन थालेको छ ।

“सडकको ट्रयाक बनेकै छ, अब भरपर्दो सडक बनुञ्जेल यहाँ पर्यटकलाई एक दिन अल्मलिने पूर्वाधार खडा गर्नुपर्ने हाम्रो जिम्मेवारी छ, हामी प्रयत्नरत छौँ,” स्थानीयवासी हरि खनालले भने ।
रासस

प्रतिक्रिया दिनुहोस्