१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रघुगंगा गाउँपालिका साक्षर घोषणा



२८ मंसिर, बाबियाचौर— म्याग्दी ।
म्याग्दीको रघुगंगा गाउँपालिकालाई बुधबार साक्षर घोषणा गरिएको छ । रघुगंगा ५ झिँ, वडा नं ६ पाखापानी र वडा नं ७ चिमखोलासंगै समग्र गाउँपालिकालाइ नै साक्षर घोषणा गरिएको हो ।

आठवटा वडा रहेको रघुगंगाका पाँचवटा वडालाई यसअघिनै साक्षर घोषणा गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी जनसंख्याले अंक, अक्षर लेखपढ गर्न सक्ने भएको आधारमा साक्षर घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले जानकारी दिए ।

झिँका ९५।१०, पाखापानीका ९५।५९ र चिमखोलाका ९५।५५ प्रतिशत लक्षित समुदाय साक्षर बनेको शिक्षा कार्यालयको तथ्यांकको आधारमा घोषणा गरिएको हो । म्याग्दीका छ वटा स्थानीय तहमध्ये बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकासहित ४१ वटा वडालाई साक्षर घोषणा गरिएको छ । थप चारवटा वडा र दुई गाउँपालीकालाई साक्षर घोषणा गर्न बाँकी छ । म्याग्दीमा ४५ वटा वडा छन् ।

मंगला गाउँपालिकाका दुईवटा वडालाई मंसिर २९ र धौलागिरिको दुईवटा वडालाई पुस १४ गते तथा माघ ८ गते म्याग्दीलाई नै साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको जिशिअ श्रेष्ठले बताए । साक्षर घोषणासंगै पहिले लेखपढ गर्न जानेकाको सिकाइलाई निरन्तरता र क्षमता अभिवृद्धिका लागि सिकाइ केन्द्र सञ्चालन गरिने शिक्षा कार्यालयले जनाएको छ ।

पाखापानीस्थित अमर मावि परिसरमा आयोजित घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले साक्षर जिल्ला घोषणासंगै म्याग्दीको सामाजिक प्रतिष्ठामा बढोत्तरी हुने बताउदै घोषणालाई व्यावहारिकरुपमा कार्यान्वयन गर्न जोड दिए ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षता र अमर मावि पाखापानीका प्रधानाध्यापक युबहादुर गर्बुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय अधिकारी यामप्रसाद सुवेदी, प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाँई, वडा अध्यक्ष लगायत जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थीको उपस्थिति रहेको थियो ।
रासस

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहिबार ००:००