७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलोका कारण पाइप बिच्छ्याउन र पानी परीक्षण बाँकी हुँदै सडक कालोपत्र शुरु



२२ मंसिर, काठमाडौँ ।
मेलम्चीको पाइप बिच्छ्याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या थियो । पाइप परीक्षण सफल भएपछि कालोपत्र गरिनुपर्नेमा उपत्यकाका मुख्य सडकमा आवतजावत गर्न समस्या भएकाले कालोपत्र गर्न थालिएको सडक विभागले जनाएको छ ।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयको समन्वयमा कालोपत्र गर्न शुरु गरिएको विभागका प्रवक्ता मुक्ति गौतमले जानकारी दिए । हाल चाबहिल, गौशाला सडकमा कालोपत्र गर्न थालिएको छ । केही भागमा पाइप बिच्छ्याउन बाँकी भए पनि काम सकिएका स्थानमा कालोपत्र शुरु गरिएको क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले बताए ।

“जयबागेश्वरी–मित्रपार्क क्षेत्रका केही ठाउँमा पाइप बिच्छ्याउन बाँकी रहेपनि यात्रु एवं स्थानीयवासीले धुलोका कारण आवतजावतमा समस्या भएको गुनासो गरेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकाको समन्वयमा कालोपत्र शुरु भएको हो” उनले भने ।

लैनचौर, लाजिम्पाट सडकमा पनि धुलोको समस्या बढेकाले यहाँ पनि कालोपत्र शुरु गर्ने तयारी गरिएको निर्देशनालयले जनाएको छ ।

यो सडकमा विशिष्ट व्यक्तिको आवागमन हुने भएकाले पाइप बिच्छ्याएर पानी परीक्षण गर्न बाँकी भए पनि कालोपत्र गर्न लागिएको हो । आयोजनाले पाइप बिच्छ्याउन खनेका सडकमध्ये ६० किमी सडक कालोपत्र गर्ने जिम्मेवारी सडक विभागलाई दिइएको छ ।

पाइप बिच्छ्याइएका सडकमध्ये थापाथली–माइतीघर ४०० मिटर र माइतीघर–सिंहदरबार ६०० मिटर सडकको काम मात्र सकेर विभागलाई जिम्मेवारी दिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए ।

“महाराजगञ्ज–लाजिम्पाट तीन किमी, चाबहिल–गौशाला एक किमी, थापाथली–माइतीघर–सिंहदरबार एक किमी लगायत सडकको काम सकेर हस्तान्तरण गरिएको छ” उनले भने । पाइप बिच्छ्याउन खनिएका सडकमध्ये ६० किमी विभाग र ११० किमी निर्देशनालयले कालोपत्र गर्नेछन् । निर्देशनालयले कालोपत्र गर्ने सडकमध्ये हालसम्म १३ किमी सडकको काम सम्पन्न भएको छ । कोटेश्वरमा आठ किमी र बाँकी पाँच किमी अन्यत्र कालोपत्र गरिएको प्रवक्ता ढकालले बताए ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००