९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्धक्क भई मतदान गर्न मतदातालाई निर्वाचन आयोगको आह्वान



२० मंसिर, काठमाडौँ ।
दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भोलि हुँदैछ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ । आयोगको हातामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि बिहान ७ः०० देखि ५ः०० बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गरे ।

भोलि ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशभसभा २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन गइरहेको छ । ती निर्वाचन क्षेत्र राखिएका सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने छन् ।

पहिलो चरणको निर्वाचन मंसिर १० मा सम्पन्न भइसकेको छ । पहिलो चरणको निर्वाचनमा करिब ६५ प्रतिशत खसेको थियो । “भोलि ७५ प्रतिशतभन्दा माथि मत खस्ने आयोगको प्रारम्भिक अनुमान छ” पत्रकार सम्मेलनमा प्रमुख आयुक्त डा यादवले भने ।

पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि दुई हजार ८१९ उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका आयोगले जनाएको छ । यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदमा पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएका छन् ।

डा यादवले निर्वाचन आचारसंहिता पालन गरी असल राजनीतिक संस्कारको विकासमा योगदान दिन राजनीतिक दल र तिनका उम्मेदवारलाई पनि आह्वान गरे । मतदान गर्न जाँदा कारणवश मतदाता परिचयपत्र छुटेमा वा नष्ट भएमा त्यस्ता मतदाताको मताधिकार सुनिश्चित गरेको जानकारी पनि उनले दिए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले आयोगले अनुमति प्रदान गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट निर्वाचन आचारसंहिता र नेपालको कानून पालना हुने विश्वास व्यक्त गरे । उनले भने, “यस निर्वाचनबाट संविधान कार्यान्वयनमा गई संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ हुनेछ । त्यसैले यो निर्वाचन अन्य निर्वाचनभन्दा महत्वपूर्ण छ ।”

उनले मतदाताले प्रदान गरेका मतलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय सम्म सुरक्षितरुपमा पु¥याउन राजनीतिक दल र तिनका उम्मेदवारलाई सहयोग गर्न आग्रह समेत गरे । “जनताको मत लोकतन्त्रको आधार भएकाले मतदाताले स्वतन्त्र र विवेकपूर्णरुपमा मतदान गर्नुपर्छ,” प्रमुख निर्वाचन आयुक्त डा यादवले भने ।

नेपालको संविधानले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबाट आदिवासी जनजाति, खस, आर्य, थारु, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपांगता भएकालाई समावेशी समानुपातिक सिद्धान्तका आधारमा नेतृत्वमा पु¥याउने अधिकार सुनिश्चित गरेको बताउँदै उनले समृद्ध नेपाल बनाउने यात्रामा समाहित हुन सबैलाई अनुरोध गरे ।
रासस

प्रकाशित मिति : २० मंसिर २०७४, बुधबार ००:००