रमेश गिरी
२० मंसिर, भक्तपुर ।
काभ्रेपलाञ्चोक बल्थलीबाट भक्तपुरको ताथलीस्थित श्री इँटाभट्टामा काम गर्न आएका रामप्रसाद श्रेष्ठको छ जनाको परिवार बिहानै घर फर्किएको छ । कसलाई भोट दिने भन्नेबारेमा निर्णय लिई नसके पनि मत भने दिनैपर्छ भन्दै काम छाडेर सो परिवार घर फर्किएको हो ।
भक्तपुरका विभिन्न इँटाभट्टामा काम गर्न आएका मजदुर तीन दिनदेखि मतदान गर्नका लागि घर फर्किरहेकाछन् । इँटा व्यवसायी संघका पूर्वअध्यक्ष नवीन प्रजापतिले चुनावका कारण इँटाभट्टामा कामदारको अभाव भएको बताउछन् ।
विगतका वर्षमा यतिखेर इँटा बनाउन शुरु भइसक्नेमा यस वर्ष कतिपय चुनाव सकेपछि काम गर्न आउने भनेर ‘बुक’ भई पहिल्यै नै गएका र काम गरिरहेकाहरु कतिपय मत हाल्न भनेर घर फर्किएकाले मजदुरको समेत अभाव भएको बताए ।
निर्वाचनमा मतदाताले उत्साहपूर्ण रुपमा मतदान गरुन् भन्ने उद्देश्यले निर्वाचनपछि आउने भनेकाले तिनलाई व्यवसायीले छुट दिएको प्रजापतिले बताए । “मजदुर अभावकै कारण यस वर्ष इँटा उत्पादन ढिला हुनेछ” उनको भनाइ थियो ।
सूर्यविनायक नगरपालिका सिपाडोलमा रहेको इँटाभट्टामा काम गर्ने अधिकांश मजदुर पनि घर फर्किएका छन् । धेरैजसो मजदुर मंगलबार सम्म घर गएका र बाँकी भएकाहरु आज बिहानैदेखि घर जान थालेको व्यवसायीको भनाइ छ । व्यवसायीले समेत मजदुरलाई “यस पटकको मत हाल्नैपर्छ खेर फाल्न हुन्न” भनेर पठाएका छन् ।
सिपाडोलका एक इँटाभट्टामा काम गर्ने सिन्धुलीकी सुन्तली सुनुवारको पाँच जनाको परिवार पनि मत हाल्न घर फर्किएको छ । आज बिहान सूर्यविनायकबाट बस चढ्नुअघि मत हाल्न घर जान लागेको बताउँदै सुनुवारले भनिन्, “गाउँमै रोजगारी दिन्छौँ, भूकम्पले भत्केको घर बनाइदिन्छाैँ भनेर उम्मेदवारले भनेकाले भोट हाल्न गाउँ जान लागेका हौँ ।”
इँटाभट्टाबाहेक खेतमा काम गर्न आएका मजदुर मतदाता पनि घर फर्किएका छन् । चाँगुनारायण नगरपालिका ९ ताथलीका सानुभाइ गिरीले खेतमा काम गर्न आएका मजदुर पनि काम छाडेर मतदान गर्न फर्किएको बताए । भक्तपुरमा मजदुर नपाइने भएपछि विभिन्न जिल्लाबाट हरेक वर्ष खेतको काम गर्न मजदुर आउँछन् । “भोट हालेर फर्किन्छौ भन्दै मजदुर घर फर्किएपछि खेत खन्न र गहुँ छर्न पनि ढिला हुन थालेको छ” उनको भनाइ छ ।
काठमाडौँ उपत्यका बाहिरबाट आएका भक्तपुर औद्योगिक क्षेत्रभित्रका विभिन्न उद्योगका कामदार पनि मतदानकै लागि गाउँ फर्किएपछि कतिपय उद्योग दुई दिनदेखि बन्द छन् । भक्तपुरमा ६२ इँटाभट्टामा स्थानीय र बाहिरका गरी करीब ३० हजार मजदुर कार्यरत छन् ।
रासस
प्रतिक्रिया