१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलजला गाउँपालिकामा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण शुरु



१८ मंसिर, फलेवास पर्वत ।उत्तरी पर्वतको जलजला गाउँपालिका–३ पर्वत बेनीमा ‘लिफ्ट’ प्रविधिको खानेपानी आयोजना निर्माण कार्य शुरु भएको छ ।

खानेपानी तथा ढल निकास विभागको शहरीकरण उन्मुख बस्तीका लागि सञ्चालित सहलगानी कार्यक्रमअन्तर्गत अयोजना निर्माण हुन लागेको हो । बढ्दो बस्ती विकाससँगै माथिल्लो क्षेत्रका पानीका मुहान सुक्ने र खानेपानी आपूर्तिको समस्या बढिरहेको छ । पर्वत बेनीमा सञ्चालित उक्त आयोजनामार्फत नदी किनारको पानी तानेर वितरण गर्ने लक्ष्य राखिएको छ ।

खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय पर्वतका इन्जिनियर विधान अर्यालले विद्युत्को सहायताले चल्ने सम्पवयल प्रविधिको पम्पबाट कालीगण्डकीको पानी तानेर बस्ती माथि पुर्याइने छ ।

ट्यांकीमा जम्मा भएको पानीलाई प्रशोधन गरी वितरण गरिने अर्यालले बताए । कालीगण्डकी नदीको दायाँ किनारमा रहेको जुगेपानीको मुहानबाट तानेर १ सय ५० मिटर माथि रहने ट्याङ्कीमा पु¥याइने पानीलाई चार चरणमा प्रशोधन गरी वितरण गरिने अर्यालले बताए ।

सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको ३० प्रतिशत श्रम तथा नगद लगानीमा निर्माण गर्न लागिएको हो । आयोजनाबाट जलजला गाउँपालिकाका २, ३ र ४ नं वडामा पर्ने बगरफाँट, पर्वत बेनी र लामाखेतका करिब १ हजार घरधुरी लाभान्वित हुने पर्वत बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले बताए ।

आगामी पुसपछि आबद्ध हुने सदस्यलाई रु २० हजारका दरले शुल्क लिने संस्थाले निर्णय गरेको छ । प्रत्येक घरमा मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गर्ने लक्ष्य राखिएको आयोजना विसं २०७६ असार सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिसेकेण्ड १२ लिटर पानी तान्ने क्षमताको पम्प जडान गरिने जनाइएको छ । मुहानमा इनार, पम्पिङ हाउस लगायतका पूर्वाधारसमेत निर्माण गर्ने तयारी भएको उपभोक्ता संस्थाका सचिव ठाकुर रेग्मीले बताए । रासस

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ००:००