६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुखुम्बुमा शान्तिपूर्ण रुपमा मतदान , तिङ्लामा कोही पनि मतदान गर्न गएनन्



१० मंसिर, सोलुखुम्बु ।
सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

जिल्ला सदरमुकाम लगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून देखिएको छ । चिसो धेरै भएका कारण मतदाताको उपस्थिति कम रहे पनि क्रमशः बाक्लिँदै गएको र दिउँसो चाप बढ्ने खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए । तल्लो क्षेत्रमा भने बिहानैबाट मतदाताहरुको लाइन लागेको छ ।

यसअघि स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनस्वरुप स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको साबिक तिंला गाविसवासीले यस पटकको निर्वाचनमा पनि यतिबेलासम्म कोही पनि मतदानका लागि गएका छैनन् ।

तिंलामा रहेका पाँचवटै मतदान केन्द्रमा बिहान ९ बजेसम्म मतदानका लागि कोही पनि नपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कर्मचारी मतपेटिका राखेर पूरा तयारीका साथ बसेका भए पनि अहिलेसम्म कोही पनि मतदाता मतदानका लागि केन्द्रमा नपुगेका हुन् ।

यसबेलासम्म सुरक्षित रुपमा मतदान कार्य भइरहेको र सुरक्षा अवस्था मजबुत रहेको प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले जानकारी दिएका छन् ।
रासस

प्रकाशित मिति : १० मंसिर २०७४, आइतबार ००:००