१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘गोदावरी नमूना नगर’ बनाउने लक्ष्य



साहिला तामाङ
६ मंसिर, ललितपुर ।
गोदावरी नगरपालिकालाई आगामी पाँच वर्षभित्र नमूना नगरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । अन्य नगरपालिकाले गर्दै आएका कामभन्दा भिन्नै किसिमको काम गरेर नमूना नगरका रुपमा विस्तार गर्ने योजना रहेको गोदवारी नागरपालिकाले जनाएको छ । नगरभित्रका स्रोत र साधनको पहिचान गर्दै त्यसको उचित ठाउँमा सदुपयोग गरेर लक्ष्यमा पुग्न सक्ने बताइएको छ ।

कूल १४ वडा रहेका नगरभित्र प्रत्येक वडाको आ–आफ्नै पहिचान रहेको पाइन्छ । नमूना नगर बनाउन प्रत्येक वडामा पाउन सक्ने आवश्यक वस्तुको पहिचान गरेर त्यसलाई त्यही वडामा उपयोग गरेर अघि बढ्ने योजना नगरपालिकाको छ ।

ललितपुर महानगरपालिकासंग जोडिएको यस नगरको विशेषता आफ्नै प्रकारको रहेको पाइन्छ । विस २०६८ को जनगणनाअनुसार ७८ हजार ३०१ जनसङ्ख्या रहेको उक्त नगरको भौगोलिक अवस्था अंग्रेजी अक्षरको सी आकारको छ ।

कूल क्षेत्रफल ९६ दशमलव ११ किमी रहेको यो नगरको वडा नं ११, १२ र १४ मा रैथाने नेवार समुदायको बाहुल्य रहेको पाइन्छ । यसबाहेक वडा नं २, ३, ५, ६, ७, ८, १० मा लामालगायत ब्राह्मण समुदायको उपस्थिति रहेको पाइन्छ । अन्य वडामा ब्राह्मणका साथै पहरी तथा नगरकोटी लगायतको बसोबास रहेको छ ।

नमूना नगर बनाउन यहाँ रहेका कृषिजन्य खेतबारीमा च्याउ, तरकारी, गोलभेँडा लगायतको खेती उत्तम रहेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । यहाँका उर्वरा जमिनमा कृषि उत्पादनलाई प्राथमिकतामा राखेर काम अघि बढाउने योजना रहेको उनको भनाइ छ ।

कृषिमा आधारित रहेर यहाँका मानिसलाई रोजगारी सिर्जना गर्न सकिन्छ, उनले भने— “पाँच वर्षभित्र यस नगरलाई तरकारी खेतीको पकेटक्षेत्रको रुपमा स्थापित गरेर नमूना नगरका रुपमा स्थापित गराउन सकिन्छ ।”

पशुपालनतिर यहाँका मानिस लाई आकर्षण गरेर अघि बढ्न सक्नु अर्को उपलब्धि हुन सक्ने उनको धारणा छ । पशुपालनमार्फत दुग्धजन्य पदार्थले नगरलाई सम्पन्न बनाउन सकिनेमा आफू विश्वस्त रहेको पनि प्रमुख महर्जनले बताए ।

कृषिजन्य सामग्रीको उत्पादनले यहाँका मानिसको आर्थिक अवस्थासमेत मजबुत हुन्छ, उनले भने— “तरकारी तथा दुध निर्यात गरेर प्रत्येक कृषकलाई आर्थिक रुपले सम्पन्न गरी यसलाई नमूना नगरको रुपमा विकास गर्न सकिन्छ ।”

कृषि तथा पशुपालनमा आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्न सकिने उनको भनाइ छ । यस क्षेत्रलाई च्याउ उत्पादनका लागि अति उपयुक्त मानिन्छ ।

नगरउपप्रमुख मुना अधिकारीका अनुसार नमूना नगरी बनाउन कृषिजन्य विकाससंगसंगै पर्यटनमा समेत ध्यान दिन सके छलाङ्ग मार्न सकिन्छ । यहाँ रहेका प्राकृतिक स्रोतलाई परिचालन गरेर पर्यटनमैत्री कार्यक्रममार्फत नमूना नगर बनाउन सकिने बताउँदै उनले वडा नं २ विशंखुनारायणस्थित कोटडाँडामा भ्यू टावर राखेर पर्यटनलाई लोभ्याउन सकिने बताइन् ।

यसैगरी वडा नं १० स्थित भांगावनको डाँडामा समेत भ्यू टावर राख्न सकिन्छ । यहाँबाट राजधानीको हरेक दृश्यलाई सजिलै अवलोकन गर्न सकिन्छ । यस्तै वडा नं ७ स्थित सुन्तलीडाँडामा थप भ्यू टावर राखेर पर्यटकलाई लोभ्याउन सकिने उपप्रमुख अधिकारीले बताइन् ।

चालु आर्थिक वर्षमा भांगावन र सुन्तलीडाँडामा भ्यू टावर निर्माणका लागि बजेटसमेत विनियोजन गरिएको छ, उनले भनिन्— पर्यटन आगमनले प्रत्येक नगरवासीको आर्थिक समृद्धिमा सहयोग पु¥याउँछ ।

नमूना नगर बनाउन धार्मिकस्थल विकास र संवर्द्धनहुनु अति आवश्यक रहेको वडा नं १० का अध्यक्ष नीलबहादुर देशारले बताए । यस क्षेत्रमा रहेका वज्रबाराही, सन्तानेश्वर, टीकाभैरव, श्वेतबाराही, सरस्वती लगायतको मन्दिरलाई संरक्षण तथा विकास गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
रासस

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ००:००