६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुसिकोटमा संग्रहालय र भ्यु टावर बन्ने



प्रकाश सिलवाल

६ मंसिर, गुल्मी । ऐतिहासिक महत्वको मुसीकोट दरबारस्थलमा संग्रहालय र भ्यु टावर बन्ने भएको छ । तत्कालीन बाइसे/चौविसे राज्यमध्येको एक उक्त दरबार क्षेत्र पछिल्लो समय संरक्षणविहीन भएका बेला मुसिकोट नगरपालिकाले पौराणिक महत्वका सामग्रीको संरक्षणका लागि संग्रहालय र एक भ्यु टावर निर्माणको योजना अघि सारेको हो ।

नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाका अनुसार भ्यु टावर निर्माणका लागि चालू आर्थिक वर्षमा ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । संग्रहालय निर्माणका लागि रुरु–रेसुङ्गा विकास समिति, पुरातत्व विभाग र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकाले निरीक्षण र अनुगमन गर्ने भएका छन् । विस्तृत अनुगमन र सर्वेक्षणपछि केन्द्रीय बजेटमा थप हुने अपेक्षा नगरपालिकाको छ ।

प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं २ मा पर्ने सो दरबार क्षेत्रमा तारबार लगाउने काम पनि शुरु भएको छ । दलहरुले यसको संरक्षण र प्रवद्र्धनका लागि चुनावी मुद्दा बनाउँदै आएका छन् ।

छिमेकी भारतबाट विसं १५०० तिर आएका विजयसिंह ठकुरीले यहाँ शासन गरेका थिए । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेपछि सिंहहरूको राज्य गुमेको थियो । दरबारमा रहेको श्री खड्गदेवीको मन्दिरमा हरेक महानवमीका रात मेला लाग्छ भने मेलामा हुने सराय नाच लोकप्रिय मानिन्छ । पाँच रोपनी क्षेत्रफलमा रहेको यो क्षेत्रलाई पुरातत्व विभागको संरक्षण क्षेत्रमध्येको ग श्रेणीमा राखिएको छ ।

मन्दिरका पूजा व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष पदमसिंह ठकुरी दरबार क्षेत्रलाई थप पर्यटकीय र धार्मिक महत्वको स्थल बनाउनुपर्ने बताउँछन् । दरबारको छानो उडेकाले हाल त्यसमा पुरातात्विक महत्व झल्कने गरी झिँगटीले छाइएको छ । दरबार क्षेत्र र आसपासमा हाल खानेपानीको अभाव भएकाले स्थानीय बासिन्दा मर्कामा छन् ।

नजिकैको पृथ्वी मावि, बाडगाउँका शिक्षक बाबुराम घिमिरे पनि मन्दिरमा परम्परा धान्ने संस्कृतिले निरन्तरता पाए यसलाई आधुनिकीकरण गरी पर्यटक आकर्षित गराउन सकिनेमा जोड दिन्छन् । सामाजिक विषयका आफ्ना विद्यार्थीलाई दरबारस्थलमा समय समयमा भ्रमण गराउने गरिएको उनले बताए । रासस

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ००:००