५ चैत्र २०८०, सोमबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस उम्मेदवार महतद्वयलाई लक्षित गर्दै बम विस्फोटन, पाँच घाइते



१ मंसिर, नुवाकोट ।
नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का कांग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ । विस्फोटनबाट पाँचजना कांग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल छन् ।

चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा शुक्रबार बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको प्रदेशसभाका उम्मेदवार रमेशकुमार महतले जानकारी दिए ।

बम विस्फोटनबाट कांग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भएका छन् । शरीरको विभिन्न भागमा चोट लागेकाले घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि काठमाडाैँतर्फ लगिएको छ ।

उम्मेदवार महतद्वय चढेको बा१४च ७०४१ नं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा१६च ६६५ नं गाडीमा बम लागेको थियो । विस्फोटनका कारण गाडी पूर्णरूपमा ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । बम विस्फोटनको जिम्मा नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।
रासस

प्रकाशित मिति : १ मंसिर २०७४, शुक्रबार ००:००