२२ कार्तिक २०८३, आइतबार | Sun Nov 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको छः प्रम

लेखक स्थानीय खबर १ बैशाख २०७५, शनिबार २ मिनेट पढाइ

१ वैशाख, मुगु ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् ।

नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्दै भने, ‘‘निर्वाचनको सफलतासंगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ, हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’’

प्रधानमन्त्रीले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रहेको उल्लेख गर्दै गत सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको बताए । उनले तीनै तहको निर्वाचन सम्पन्न भएसंगै संविधान सफल कार्यान्वयनको बाटामा अघि बढ्दै स्थायित्वको नयाँ चरण आरम्भ भएको पनि बताए ।

“अहिले पनि के नेपाल बन्छ रु के यो सरकारले हाम्रा सपना पूरा गर्छ” भन्ने प्रश्न आफूले पटक पटक सुन्दै आएको बताउँदै उनले भने, ‘‘नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’’

प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधीन बनाउने सोचहरु कमजोर भएको र विभाजित गर्ने शक्तिहरु किनारा लागेको उल्लेख गरे । राष्ट्रहरुबीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्ने प्रधानमन्त्रीको भनाइ छ ।

उनले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर हाम्रा छिमेकी, सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सम्बन्ध विकास गरिने बताए । प्रधानमन्त्रीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानुनी र संरचनागत सुधार गरिने जानकारी दिए ।
रासस

प्रकाशित मिति : १ बैशाख २०७५, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।