१८ चैत, बाजुरा ।
बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।
साबिकका ११ गाविसमा रहेका नमस्ते र स्काईका लागि निर्माण गरिएको उक्त टावरमा एक सातादेखि खराबी आएपछि स्थानीयवासी सम्पर्क विहीन बनेको नेपाल प्रेस युनियनका जिल्ला शाखाका अध्यक्ष छक्कबहादुर मल्लले जानकारी दिए ।
उनले दिएको जानकारीअनुसार लगातारको मौसम बदलीसँगै टेलिकमको टावरले काम गर्न छोडेपछि साबिकका ११ गाविसका स्थानीय सम्पर्कविहीन बन्नु परेको छ ।
साबिकका ११ गाविसका लागि निर्माण भएको टावरको नेटवर्कले बेलुकी ५ बजेदेखि भोलिपल्टको बिहान १० बजेसम्म घाम नलागुन्जेलसम्म नेटवर्कले काम नगर्ने समस्या हुँदाहुँदै पनि एक सातादेखि टावरमा खराबी आएर टेलिफोन सेवा अवरुद्ध हुँदा कसैको ध्यान नगएको स्थानीयवासी पदमबहादुर विष्टले बताए ।
जनताले सहज रुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुखदर्शक बनेको विष्टले बताए । मर्मतका लागि टेलिकमको मर्मत टोली आज बिहान डडेल्धुराबाट बाजुराका लागि आएको बताइएको छ ।
रासस


प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।