१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनुषा जिल्ला समन्वय समितिको निर्वाचनमा १४ जना उम्मेदवार



२८ कात्तिक, महेन्द्रनगर । धनुषा जिल्ला समन्यव समितिको नेतृत्वका लागि हुने निर्वाचनमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । समितिको ९ सदस्यका लागि १४ जनाले उम्मेदवारी दर्ता गराएको धनुषाका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए ।

समितिको सभापतिमा दुई, उपसभापतिमा एक, महिला सदस्यमा पाँच, दलित तथा अल्पसङ्ख्यमा दुई र सदस्यमा चार जनाले उम्मेदवारी दर्ता भएको छ । सभापतिमा नेपाली कांग्रेसका रामदेव बनरैत यादव र एमालेबाट वृहीबहादुर तुलाङगीले उम्मेदवारी दिएका छन् ।

यसैगरि उपसभापतिमा राष्ट्रिय जनता पार्टीबाट एक मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा जनकपुर उपमहानगरपालिका–४ का वडा सदस्य दीपक झा छन् ।

कांग्रेसले सभापतिसहित चारवटा पदमा उम्मेदवारी दिएको सभापतिका उम्मेदवार रामदेव बनरैत यादवले जानकारी दिए । उनले राजपा उपसभापतिसहित तीन र संघीय समाजावादी फोरमलाई दुई गरी पाँच पदमा दिने सहमति भएको बताए ।

त्यस्तै, एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले सभापतिसहित पाँचवटा पदमा उम्मेदवारी दिएको एमाले नेता हरिनारायण महतोले बताए । मधेशवादीसँग चुनावी तालमेल गर्ने हिसाबले अन्य सिटमा उम्मेदवारी नदिएको उनले दाबी गरे ।

जिल्लाका १८ वटै स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी ३६ जना मतदाता रहेका छन् । सो अनुसार कांग्रेससँग १५, राजपासँग ४, संघीय फोरमसँग ३ र वाम गठबन्धनसँग १४ मत छ । मतदात आगामी ३० गते हुनेछ । रासस

प्रकाशित मिति : २८ कार्तिक २०७४, मंगलबार ००:००