८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लालपुर्जा दिन पहल गर्नेलाई भोटः मुक्त कमैया



२७ कात्तिक, धनगढी ।
आसन्न चुनाव नजिकिँदै जाँदा कैलाली जिल्लाका मुक्त कमैयाले आफूहरुको उचित पुनः स्थापनाको पहल गर्नेलाई सहयोग गर्ने बताएका छन् ।

चुनावको समयमा आउने नेताहरु भोट माग्दै समस्या समाधानको आश्वासन दिने गरेकामा अहिलेसम्म समस्या समाधान नभएको भन्दै मुक्त कमैयाले जग्गाको लालपुर्जा बनाउन पहल गरिदिनेलाई सहयोग गर्ने बताएका हुन् ।

धनगढीको पुरानो हवाई मैदानको जग्गा ओगटेर बसेका झण्डै ५६ मुक्त कमैया परिवारले अझैसम्म जग्गाको लालपुर्जा पाएका छैनन् । “भोट दिनुहोस पुनः स्थापनामा सहयोग गर्छौं भन्ने नेता धेरै आए, तर अहिलेसम्म जग्गा पाएका छैनाैँ ।” धनगढी उपमहानगरपालिका १ को मुक्त कमैया शिविरका मुक्त कमैया हरीलाल चौधरीले भने, “यस्तो आश्वासन यसअघिका दुई–तीनवटा निर्वाचनका बेला पाए पनि समस्या समाधान भएन ।”

मुक्त भएको १७ वर्ष भइसक्दा पनि आफूहरुले अझैसम्म जग्गा नपाएको अर्का मुक्त कमैया भागिराम चौधरीले गुनासो गरे । “भोट माग्ने बेला तिम्रो सबै समस्या समाधान गरिदिन्छु भन्छन्” भागिरामले भने, “भोट हालिसकेपछि फर्केर आउँदैनन् ।” यसपालिको चुनावमा भने भोट हाल्दा विचार गरेर मतदान गर्ने यी पूर्व कमैयाको योजना छ ।

चुनावमा मतदान गर्न जाने पूर्व कमैयाले मतदान कसरी गर्ने कति ठाउँमा छाप लगाउने जस्ता विषयमा आफूहरु पूर्ण रुपमा जानकार नरहेको बताएका छन् । “असारमा भएको चुनावमा दुई ठाउँमा भोट हालेँ” मुक्त कमैया सीताराम चौधरीले भने, “आउने चुनावमा दुई ठाउँमा भोट हाल्ने कुरा सुने पनि पूरा जानकारी छैन ।”

मतदान गर्ने तरिका सिकाउन कोही नआउने गरेको यी पूर्व कमैयाको भनाइ छ । मुक्त कमैयाको भनाइलाई आधार मान्ने हो भने निर्वाचन कार्यालयले दिने मतदाता शिक्षा कार्यक्रम मुक्त कमैया बस्तीमा प्रभावकारी भएको देखिँदैन ।

यद्यपि क्षेत्रीय निर्वाचन कार्यालयले हरेक टोल र बस्तीमा मतदाता शिक्षा स्वयम्सेवीमार्फत मतदाता शिक्षा कार्याक्रम सञ्चालन गर्ने गरेको छ । मतदाता शिक्षा दिन जाने कर्मचारीले दिउँसोको समयमा कतिपय मतदाता घरमा भेटाउन नसक्ने अवस्था रहेको क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद अर्यालले बताए ।

“मतदाता शिक्षामा खटिने कर्मचारी घरमा पुग्दा कतिपय घरका मतदाता भेटिँदैनन्” अर्यालले भने, “यसपालि सघन बस्ती रहेका टोल र वडामा मतदाताको भेला गराएर समूहगत रुपमा समेत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ ।”
रासस

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार ००:००