१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा चुनावी माहोल श्रृजना हुन सकेन्



 

२२ कात्तिक, कपिलवस्तु । प्रमुख दलबीच देखिएको आन्तरिक मनमुटावका कारण कपिलवस्तुमा चुनावी माहोल श्रृजना हुन सकेको छैन । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएको करिब एक साता भइसक्दा पनि जिल्लामा चुनावी माहोल श्रृजना हुन नसकेको हो ।

गएको स्थानीय तह निर्वाचनको तुलनामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा आम मतदातामा पनि निर्वाचनको खासै उत्साह देखिएको छैन । प्रतिनिधि सभाका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा दलहरुले उम्मेदवारी दर्ता गराएपछि चुनावी चहलपहल बढ्नुपर्ने हो तर अहिलेसम्म त्यो अवस्था नदेखिएको निर्वाचन पर्यवेक्षक पशुपतिमणि त्रिपाठीले बताए ।

नेपाली कांग्रेस र वाम गठबन्धनका उम्मेदवार अझै पार्टीको आन्तरिक नेता कार्यकर्ता बीचको मनमुटाव मिलाउनमा नै व्यस्त रहेका कारण पनि निर्वाचनको माहोल शुरु नभएको नेपाली कांग्रेसका जिल्ला सदस्य प्रकाश घिमिरेले बताए ।

निर्वाचनको समय अझै एक महिना बाँकी रहेकाले प्रचारप्रसारको अभियान बिस्तारै शुरु हुन्छ, उनले भने– “यतिखेर उम्मेदवारहरु व्यक्तिगत रुपमा अगुवा कार्यकर्तासंगको भेटघाटमा नै व्यस्त छन्, विस्तारै उनीहरुले आफ्ना प्रचार प्रसार कार्यालय खोल्ने तर्खरमा छन् ।”

स्थानीय तहमा आम मतदाता आफ्ना प्रतिनिधि चयन गर्न जति आतुर देखिन्थे, त्यस्तो अवस्था अहिलेसम्म यो निर्वाचनमा आफूले नदेखेको स्वतन्त्र बुद्धिजीवी रामदयाल ठाकुरले बताए ।

आममतदातामा स्थानीय तहको निर्वाचनमा आफ्नो वडा, गाउँ र नगरको प्रतिनिधि आफूले चुनेर उनीहरुबाट स्थानीय तह सञ्चालन भए गाउँठाउँको विकास हुने ठूलो आशा भरोसा पलाएको थियो । तर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनमा ती मतदातामा खासै उत्साह देखिएको छैन । जो आए पनि उस्तै हो भन्ने सोचाइ यहाँका आम मतदातामा देखिन्छ ।

जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका भारतका लागि नेपाली पूर्वराजदूत दीपकुमार उपाध्याय र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता चक्रपाणि खनालबीच प्रतिस्पर्धा देखिएको छ ।

त्यसैगरी क्षेत्र नं २ मा राजपा परित्याग गरी एमालेको चुनाव चिन्हबाट निर्वाचनमा उम्मेदवारी दिएका वृजेशकुमार गुप्ता र कांग्रेसका तर्फबाट सुरेन्द्रराज आचार्यबीच प्रतिस्पर्धा छ । क्षेत्र नं ३ मा संघीय समाजवादी फोरम परित्याग गरी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका अभिषेकप्रताप शाह, राजपा परित्याग गरी नेकपा एमाले को चुनाव चिन्हबाट उम्मेदवारी दिएका ईश्वर दयाल मिश्रा, राजपा परित्याग गरी संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार रहेका मंगलप्रसाद गुप्ता बीचको त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ ।
रासस

प्रकाशित मिति : २२ कार्तिक २०७४, बुधबार ००:००