१४ मंसिर २०७९, बुधबार | Wed Nov 30 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खाद्य पर्दाथमा हुने मिसावट कसरी चिन्ने, जानिराखौँ



काठमाडौं । अहिले मान्छेहरू बजारमा निर्भर यति धेरै छन् कि, बजारमा किनेको खानेकुरा नखाएको कुनै छाक हुँदैन । सहर मात्र होइन, गाउँमा पनि बजारबाट खानेकुरा किनेर खाने परिपाटी दिन प्रतिदिन बढ्दो छ ।

खानपानमा आमनागरिक बजारमाथी निर्भर हुँदै गर्दा व्यापारिक फाइदाका लागी खाद्यवस्तुमा मिसावट समस्या बढ्दै गएको छ । खानेकुरामा अखाद्य तथा नकरात्मक असर पुग्ने रसायनहरू मिसाउँदा आमनागरिकको स्वास्थ्यमा नराम्रो असर पुगिरहेको छ । अखाद्य र हानिकारक रसायन मिसावट भएको खानाले शारिरक हिसाबले संवेदनशील रहेका गर्भवती, सुत्केरी, बालबालिका र बृद्धबृद्धाको स्वास्थ्यमा छिटो असर गर्न सक्छ ।

बजार अनुगमन गरेर दोषीमाथी कारवाही गर्ने जिम्मेवारी राज्यको भए पनि किनेर खाने आमनागरिक पनि सचेत हुन जरुरी छ । बजारमा खाद्यवस्तु किन्दा होसियारी अपनाउनु नागरिकको पनि अनिवार्य दायित्व हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बेच्न राखिएका खाद्यवस्तुमा मिसावट भए/नभएको, म्याद गुज्रे/नगुज्रेको, तौल पुगे/नपुगेको जस्ता अनुगमन गरेर कारवाही गर्दै आएको छ ।

विभागको अनुभवमा खुर्सानीको धूलो, मह, दालहन, तेलहन, अन्न, मिठाई, दूधजन्य खाद्य पदार्थ, फलफूलमा धेरै मिसावट गर्ने, अखाद्य रङ हाल्ने, हानिकारक रसायन प्रयोग गरिएको पाइन्छ ।
विभागको खाद्य स्वच्छता, प्रशोधन र पोषण नामक पुस्तिकामा निम्न सुझावहरू दिइएका छन्ः

१) रातो खुर्सानीको धुलोः यसमा खरी ढुङ्गाको धूलो, इँट्टाको धूलो र अखाद्य रङ मिसाइएको हुनसक्छ । मिसावट भएको थाह पाउन एक गिलास पानीमा एक चम्चा खुर्सानीको धूलो हाल्नु पर्छ । यदी खरी ढुङ्गा वा इँट्टाको धूलो मिसाइएको छ भने त्यो थिग्रिएर पीँधमा जान्छ । अखाद्य वा कृतिम रङ मिसाइएको भए पानी रातो भएर जान्छ ।

२) महः बजारमा किन्न पाइने महमा चिनी मिसाउने गरेको पाइन्छ । एक थोपा मह पानीमा हाल्दा चाँडै घुल्छ भने त्यो महमा चिनी मिसाइएको हुन्छ । यदी चाँडै घुल्दैन भने त्यो शुद्ध मह रहेछ भनेर बुझ्नु पर्छ ।

३) धूलो नून र चिनीः यसमा चक पाउडर मिसाउने गरेको पाइन्छ । यस्तो नून र चिनी पानीमा हाल्दा चक पाउडर तैरिन्छ ।

४) आयोडिनयुक्त नूनः यसमा साधारण नून मिसाउने गरेको पाइन्छ । एक टुक्रा काटेको आलुमा छर्केर केही बेर पर्खिने र कागतीको रस राख्ने । यसो गर्दा आलुको रङ नीलो भएमा यसलाई आयोडिनयुक्त नून मानिन्छ ।

५) चियाः यसमा कृतिम रङ मिसाएको पाइन्छ । भिजेको सेतो कागजमा चिया छर्किँदा गुलाबी रातो थोप्लाहरू देखिएमा कृतिम रङ मिसाएको पुष्टी हुन्छ ।

६) मिठाई माथीको तापक (चाँदी): यसमा आल्मुनियमको तापक मिसाइएको पाइन्छ । जुन स्वास्थ्यका लागी हानिकारक छ । तापक भएको मिठाईमा सलाई कोरेर बाल्दा कालो भएमा त्यसमा चाँदीको तापक प्रयोग नभएको पुष्टी हुन्छ । चाँदीको तापक खानयोग्य मानिन्छ ।

७) तोरीको गेडाः यसमा आर्जिमोनको गेडा मिसाएको पाइन्छ । आईग्लासले हेर्दा तोरीको गेडा एकनासको देखिन्छ । तर आर्जिमोनको गेडा चाउरिएको देखिन्छ ।

८) दालः यसमा खेसरी मिसाएको पाइन्छ । अन्य दालको तुलनामा खेसरी दाल एकातिर तेस्रो र अर्कोतिर चारकुने आकारको देखिन्छ ।

९) खुवा र यसबाट बन्ने खाद्य वस्तुहरूः यसमा स्टार्च धूलो मिसाएको पाइन्छ । एक चम्चा खुवा पानीमा राखेर उमालेर चिसो पार्ने र एक दूई आयोडिनको घोल राख्ने । यति गर्दा आयोडिनको घोल नीलो देखिए स्टार्च मिसाइएको पुष्टी हुन्छ ।

१०) हरियो खोर्सानी तथा तरकारीः यसमा मालाचाइट ग्रीन नामक अखाद्य रङ मिसाएको पाइन्छ । अलिकति कपास तरल प्याराफिनमा भिजाई हरियो खोर्सानी वा तरकारीको बाहिरी भाग माड्दा कपास हरियो देखिएमा मालाचाइट ग्रीन मिसावट भएको पुष्टी हुन्छ ।

११) मकै, बदाम र अन्य दालहन तथा खाद्यान्नः सामान्य आँखाले हेर्दा ढुसी परेको खाद्यवस्तु उपभोग नगर्नु बेस हुन्छ ।

१२) फलफूलः बजारमा बेच्न राखिएको फलफूलमा स्वास्थ्यका लागी हानिकारक यस रसायन प्रयोग गरेको पाइन्छ । हेर्दा एकै नासको पहेँलो देखिए पनि फलफूल कम गुलियो र सुगन्ध कम हुन्छ । समात्दा हातमा बालुवाको कणजस्तो महशुस गर्न सकिन्छ । साथै फलको बोक्रा र भेट्नोमा कालो धब्बाहरू देखिन्छ ।

१३) पहेँलो मिठाई र बेसारः यी खाद्य वस्तुहरूमा मेटानिल एल्लो नामक अखाद्य रङको प्रयोग गरेको पाइन्छ । टेष्ट ट्यूबमा मिठाई वा बेसार राखेर त्यसमा अलिकति पानी राख्ने, अनि चार पाँच थोपा हाईड्रोक्लोरिक एसिड हाल्ने । यसो गर्दा त्यसमा प्याजी रङ देखा परे मेटानिकल एल्लो मिसाइएको रहेछ भन्ने पुष्टी हुन्छ ।

१४) हरियो मिठाईः हरियो खोर्सानी आर्कषक देखाउनजस्तै यसमा पनि आर्कषक देखाउन अखाद्य रङ मालाचाइट ग्रीन प्रयोग गरेको पाइन्छ । यसको शुद्धता परीक्षण ल्याब विधिबाट मात्र गर्न सकिन्छ । मिठाईलाई टेस्टट्यूबमा राखेर १० एमएल डाइल्यूट एमोनिया राख्नु पर्छ । यसो गर्दा रङ हराएर जान्छ भने त्यसमा मालाचाईट ग्रीन मिसाएको पुष्टी हुन्छ ।

१५) घिउ/मख्खनः यसमा बनस्पती घिउ मिसाएको पाइन्छ । दूई चिया चम्चा घिउ वा मख्खनमा त्यत्ति नै हाइड्रोक्लोरिक एसिड र एक चिया चम्चा चिनी राखेर राम्ररी चलाउनु पर्छ । ५ मिनेट पछि हेर्दा एसिड राखेको भागमा रातो देखिन्छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार ००:००