४ चैत्र २०८०, आइतबार | Mon Mar 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रिय जनगणना २०७८ः सहरी सम्भ्रान्त वर्ग बिबरण भर्न मान्दैनन्



राष्ट्रिय जनगणनाका लागी आवश्यक बिबरण संकलन गर्न जाने कर्मचारीहरूलाई शिक्षित भनिएका सहरी सम्भ्रान्त बर्गले नै असहयोग गरिरहेको सरकारी अधिकारीहरूले बताएका छन् ।

राजधानीमा सोमबार भएको कार्यक्रममा केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले खासगरि राजधानी उपत्यकामा असहयोग भइरहेको जानकारी दिए ।

“बिबरण संकलनका लागी गणकहरू जाँदा सहरका शिक्षित र सम्भ्रान्त भनिएकाहरूले घरको ढोकै नखोल्ने, खोले पनि बिबरण नदिने, दिए पनि अपुरो दिनेजस्ता समस्याहरू छन्,” श्रेष्ठले भने, “दूरदराजका गाउँहरूमा कर्मचारी पुग्न गाह्रो भए पनि पुगेपछि बिबरण संकलन गर्न सजिलाे छ ।”

सहरमा गोपनीयता भंग हुने डरले पेसागत, व्यवसायगत र बैंकिङ बिबरण दिन नमानेका हुन् । तर विभागले व्यक्तिगत गोपनीयताको पूर्ण प्रत्याभूति दिएको श्रेष्ठले दाबी गरे ।

व्यक्तिगत बिबरण जनगणनाका लागी मात्रै प्रयोग गर्नुपर्ने र त्यसबाहेक अन्य प्रयोजनका लागी प्रयोग गर्न नमिल्ने कानूनी व्यवस्था छ ।

“संकलन भएको व्यक्तिगत बिबरण राष्ट्रिय जनगणनाबाहेक अन्यत्र प्रयोग भएको वा भंग भएको खण्डमा संलग्न अधिकारीहरूलाई कारवाही गर्ने व्यवस्था छ,” श्रेष्ठ भन्छन्, “ढुक्क भएर बिबरण दिँदा हुन्छ । यदी व्यक्तिगत बिबरण दुरुपयोग भएमा दोषीहरूलाई कारवाही हुन्छ ।”

बचत, ऋण, सेयर, करजस्ता अति संवेदनशील व्यक्तिगत बिबरणहरू अन्य सरकारी निकायले समेत प्रयोग गर्न नपाउने व्यवस्था छ । तर कर प्रशासन, प्रहरी, सम्पति शुद्धिकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरूले बिबरण प्रयोग गर्ला कि भन्ने आशंकले सम्भ्रान्त बर्ग त्रस्त छन् ।

राष्ट्रिय जनगणनासम्बन्धि साक्षरता कमजोर भएका कारण समस्या आएको श्रेष्ठ स्वीर्काछन् । कोभिड–१९ काे महामारीका कारण संघीय सरकारले प्रशासनिक र प्रचारप्रसार शिर्षकका खर्चहरू कटौति गरे पछि राष्ट्रिय जनगणनाको प्रचारप्रसार प्रभावित भएको हो ।

बरिष्ठ पत्रकार ध्रुबहरी अधिकारीले एकातिर व्यक्तिगत गोपनीयताको संरक्षण गर्नुपर्ने र अर्कोतिर राष्ट्रिय जनगणनाकाे प्रचारप्रसार पनि गर्नुपर्ने भएकाले संवेदनशील हुनुपर्ने बताए । व्यक्तिगत गोपनीयतालाई प्रत्याभूति दिएर प्रचारप्रसार तथा बिबरण संकलनकाे काम गर्नु पर्नेमा अधिकारीले जोड दिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार नम्रता शर्माले बिबरण संकलन गर्दा र सञ्चार सामाग्रीहरू तयार पार्दा लैंगिक तथा समावेशीकरणको संवेनशीलतालाई ख्याल गर्नु पर्नेमा जोड दिइन् ।

यसैगरि मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले सञ्चारमाध्यमहरूले राष्ट्रिय जनगणनाको बिषयलाई प्राथमिकताका साथ उठान गर्नुपर्ने बताए ।

कार्यक्रम मिडिया एक्सन नेपाल, केन्द्रीय तथ्यांक विभाग, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र युके एडले आयोजना गरेका हुन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार ००:००