२१ कात्तिक, बैतडी । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि बैतडीमा उम्मेदवारहरु भोट माग्ने कार्यमा व्यस्त रहेका छन् । चुनावलाई लक्षित गरेर बैतडीमा सबै राजनीतिक दलले चुनावी अभियानलाई पनि तीव्रता दिएका छन् । सबै राजनीतिक दलहरु आजभोलि भोट माग्न गाउँ केन्द्रित भएका छन् ।
मतदाताहरुलाई कामको चटारो भए पनि उम्मेदवारहरुलाई मत माग्न हतार भइरहेको छ । लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र अन्य साना दलहरुले पनि चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
ठूलादेखि साना दलहरु मत माग्नका लागि गाउँगाउँ पुग्ने गरेका छन् । चुनावी सभा र घरदैलो मार्फत उम्मेदवारले मत माग्ने काम गरिरहेका छन् । मत माग्न गाउँगाउँ पुगेका नेताहरुले पुरानै आश्वासन दोहो¥याइरहेको जनताले बताएका छन् । जिल्लामा लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच प्रतिस्पर्धा हुने आँकलन गरिएकाले उनीहरुले प्रचारप्रसारमा बढी जोड दिएका छन् ।
लोकतान्त्रिक गठबन्धनका तर्फवाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द उम्मेदवार बनेका छन् भने प्रदेश सभा सदस्यका लागि बैतडी ‘क’ बाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी र बैतडी ‘ख’ मा राप्रपाका गणेश चन्द चुनावी मैदानमा उत्रिएका छन् ।
उता वाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका लागि एमालेका नेता पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारीलाई अघि सारेको छ भने प्रदेश सभाका लागि ‘क’ बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र ‘ख’ बाट एमालेका लीलाधर भट्ट उम्मेदवार बनेका छन् ।
यस्तै, प्रतिनिधि सभाका लागि विवेकशील साझाबाट नारायणदत्त अवस्थी र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा लड्ने भएका छन् । प्रदेश सभातर्फ क्षेत्र नं १ राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।
एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने छ ।
रासस
प्रतिक्रिया