९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म पर्यटक उम्मेदवार होइनः ढुङ्गाना, मैले भक्तपुरमा ४ अर्ब बजेट ल्याएँः बस्नेत



 

२० कात्तिक, भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार भएका दमननाथ ढुंगानाले आफूलाई पर्यटक उम्मेदवार भनेर प्रचार नगरिदिन आग्रह गरेका छन् ।

रफत सञ्चार क्लब भक्तपुरले आयोजना गरेको उम्मेदवार अन्तरक्रिया कार्यक्रममा उनले भने, “भक्तपुर म हुर्केबढेको पढेको ठाउँ, यहाँ मेरो जग्गा जमिन छ, त्यसैले म पर्यटक वा पाहुना उम्मेदवार होइन ।”

देशभर वाम गठबन्धन बनेका बेलामा भक्तपुरमा सो गठबन्धनसंग लड्न सक्ने मान्छेको खोजी गर्दा आफू उम्मेदवार बन्नुपरेको बताउँदै ढुंगानाले भने, “वाम गठबन्धनसंग लड्न सक्ने व्यक्ति म मात्रै हो भन्ने पार्टीले मूल्यांकन गरेकाले मलाई पार्टीले उम्मेदवार बनाएर पठायो, उम्मेदवार बन्न भक्तपुरकै बासिन्दा हुनुपर्छ भन्ने छैन ।” पूर्वसभामुख ढुंगानाले अहिले भक्तपुरको भविष्यसंग जोडिएर आफ्नो उम्मेदवारी आएको बताए ।

कार्यक्रममा वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका नेकपा एमालेका युवा नेता महेश बस्नेतले लोकतन्त्रमा जीतहारको कुराभन्दा पनि स्वच्छ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिँदै आफ्ना पिताका उमेरका ढुंगानासंग प्रतिस्पर्धा गर्न पाउनु सौभाग्य भएको प्रतिक्रिया दिए । स्थिर सरकार र मुलुकको समृद्धि एवं भक्तपुरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी परेको बताउँदै उनले २०७० सालमा संसद्को निर्वाचनमा आफूले पराजय भोगेपछि भक्तपुरको सेवामा समर्पित भएकाले त्यसको मूल्यांकन हुने बताए ।

बस्नेतले भने, “ भक्तपुरको विकास र गौरवलाई उँचोमा पु¥याउन मेरो उम्मेदवारी हो ।” आफू उद्योगमन्त्री हुँदा आफ्नै पहलमा भक्तपुरमा ४ अर्बको विकास बजेट ल्याएर विकासका काम तीव्र पारेको जिकिर गरे ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहमति
आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पूर्ण रुपमा आचारसंहिता पालना गरी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलबीच सहमति भएको छ ।

प्रजिअ द्रोण पोखरेलको संयोजकत्वमा स्थानीय प्रशासन, निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, पत्रकारसमेत सहभागी भएको सर्वदलीय बैठकमा निर्वाचनमा भाग लिएका दलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन भयरहित र निष्पक्ष रुपमा सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।

निर्वाचन भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न प्रजिअ पोखरेलको संयोजकत्वमा ११ राजनीतिक दलका प्रतिनिधि र सुरक्षा निकायसमेत रहने गरी समन्वय समिति गठन गरिएको छ । दल तथा दलका उम्मेदवारलाई पूर्ण रुपमा निर्वाचन आचारसंहिता पालना गर्ने गराउने, नागरिक वा व्यक्तिको स्वतन्त्रता हनन नहुने गरी तोकिएको समयमा जुलुस तथा सभा गर्ने, स्थानीय प्रशासनको अनुमतिविना भेला, सभा, जुलुस लगायत कार्यक्रम गर्न नपाइने लगायत निर्णय गरिएको छ ।
रासस

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:००