१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकास प्राथमकितामा




पोखरा
, २० कात्तिक । नेपाली कांग्रेस कास्कीले जिल्लालाई समृद्धि र विकासको मार्गमा लैजान कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका तर्फबाट जिल्लामा बनेका उम्मेदवारको उपस्थितिमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाको घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले कृषि, पर्यटन, जलस्रोत र पूर्वाधार विकासका माध्यमबाट जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका कार्यवाहक सभापति सुदीपमोहन भट्टराईले कस्केली जनताको आय वृद्धि गर्दै प्रत्येक परिवारको जीवनस्तर उठाउने पार्टीको एक मात्र लक्ष्य भएको बताउँदै त्यसका लागि लगानीको विस्तार गर्दै सबैलाई रोजगारको अवसर उपलब्ध गराउने बताए ।

तालहरूको संरक्षण, सडक सञ्जालको विकास तथा विस्तार, आवश्यक पुलको निर्माणलाई अघि बढाउने कांग्रेसले जनाएको छ ।

कार्यक्रममा प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कांग्रेसको विजयबाट मात्रै संविधानको कार्यान्वयन र लोकतन्त्रको विकास हुने जिकिर गरे ।

वाम गठबन्धनका नाममा देशलाई एक दलीय कम्युनिष्ट अधिनायकवादतर्फ लान खोजिएको बताउँदै उनले यसतर्फ प्रत्येक नेपाली सचेत बन्नुपर्ने विचार व्यक्त गरे ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं २ का उम्मेदवार देवराज चालिसेले विकासका लागि स्थानीय आवश्यकताअनुसार समयसापेक्ष सोच र नवीनतम् प्रविधिको प्रयोग गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ का उम्मेदवार शुक्रराज शर्माले पर्यटनको अत्यधिक सम्भावना बोकेको पोखराबाट लुम्बिनीका साथै उत्तरमा कैलाश मानसरोवरलाई जोड्नुका साथै आर्थिक विकास र समृद्धिलाई दृष्टिगत गरी महत्वपूर्ण योजनालाई कांग्रेसले अघि बढाउने उल्लेख गरे ।

कार्यक्रममा प्रदेशसभातर्फका उम्मेदवार कास्की १ क का जीवन परियार, १ ख का कृष्ण केसी, २ क का गुरुप्रसाद बराल, २ ख का विन्दुकुमार थापा, ३ क का शारदा पौडेल र ३ ख का सिकन्दरकुमार गुरुङले जिल्लाभित्रका सम्भावनालाई उजागर गर्दै कास्कीलाई समृद्ध जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरे ।
रासस

प्रकाशित मिति : २० कार्तिक २०७४, सोमबार ००:००