६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पाका सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा




रोल्पा
, १९ कात्तिक । स्थानीय तहको निर्वाचनसंगै गठन भएका रोल्पाका दशवटै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम अगाडि वढाएका छन् ।

प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शैक्षिक सरोकारवालाको भेलागरी शैक्षिक अवस्था पहिचानसमेत गरेका उनीहरूले शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने योजनाको खाकासहित काम अगाडि वढाएको वताएका छन् ।

जिल्लामा शैक्षिक अवस्था निकै कमजोर रहेका कारण विकासको मेरुदण्डको रूपमा शिक्षालाई स्वीकार गरी प्राथमिकताका साथ काम थालनी गरेका छौँ रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले भने । सबै विद्यालयको अवस्था सुधार नभएसम्म शैक्षिक उपलव्धि हासिल नहुने तर्क गर्दै भौतिक पुर्वाधारलाई निरन्तरता दिँदै शैक्षिक विकासलाई प्राथमिकतामा राखी काम थालनी गरेको उनले वताए ।

शिक्षकहरूलाई समयमै उपस्थित हुने, विद्यालय सफाई, विद्यार्थीको पठनपाठन लगायतका विषय समेटेर गाउँपालिकाबाट सबै विद्यालयलाई १३ बुँदे परिपत्रसमेत गरेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले बताए । विद्यालयको शैक्षिक विकासलाई महत्वपूर्ण स्थान दिएर रणनीतिक योजना तर्जुमा गर्नेगरी बजेट पनि विनियोजन गरेका छौँ ओलीले भने ।

मगर खाम भाषाबाट पठनपाठन गर्नेगरी पाठ्यक्रम परिमार्जन गर्नका लागि परामर्श थालिएको थवाङ गाउँपालिकाका प्रमुख वीरबहादुर घर्तीले बताउए । सबै विद्यालयको स्थानीय सरकारले अनुगमन गरी वास्तविकता पहिचान गरी शैक्षिक सुधारको पाँचवर्षे योजना तर्जुमा गर्ने तयारी भइरहेको छ यसैवर्षको अन्त्यसम्म थवाङ गाउँपालिकाको शैक्षिक रणनीतिक योजना बनाउँ छौँ घर्तीले भने ।

स्थानीय सरकारको शैक्षिक आवधिक योजना बनाउन सेभ द चिल्ड्रेनले जिल्लाका स्थानीय गैर सरकारी संस्थाको सहजीकरणमा सहयोग गरिरहेको सेभ द चिल्ड्रेनका दिलकमल क्षेत्रीले बताए । शैक्षिक अवस्था सुधारमा स्थानीय सरकारको सक्रियता प्रशंसनीय भएको क्षेत्रीले प्रतिक्रिया दिए ।

जिल्लामा शैक्षिक अवस्था सुधारका लागि धेरै काम गर्न बाँकी रहेकाले स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राखी काम गर्नु सकारात्मक भएको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले वताइन् ।
रासस

प्रकाशित मिति : १९ कार्तिक २०७४, आइतबार ००:००